`

श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो

Nepal One HD १ भदौ २०८३ २०:५४
अध्यात्म

काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआराधना गरेर मनाइएकोे छ ।

आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरी दुःख नपाइने धार्मिक विश्वास रही आएको छ ।

साथै चट्याङ, अग्निभय र मेघका कारण समेत पीडित हुनु नपर्ने भन्ने कुराको उल्लेख बराह लगायतका पुराणमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

आजको दिन पशुपति क्षेत्रस्थित वासुकीनाथ मन्दिर, काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआराधना गरी मेला लाग्ने गर्दछ ।

साथै चाँगुनारायण मन्दिरलगायत देशभरका नारायण मन्दिरमा पनि भक्तजनको लाम लाग्ने गर्छ । आज नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानले समेत आराम गर्ने परम्पर रहीआएको छ।

आजको दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वास छ। घर, खेत, बारीमा पनि नागले बास गर्छन् भन्ने वैदिक मान्यता छ । यसै मान्यताका आधारमा खेत बारीमा नागस्थान बनाई पूजा गरिन्छ ।

नागपञ्चमीका दिन विधिपूर्वक पूजा आजा गरी घरको मूल ढोकामा नाग टाँसेमा वर्षभर विद्युत, अग्नि, सर्प, चट्याङ लगायतको भय नहुने धार्मिक विश्वास समेत नेपाली समाजमा छ। नाग अर्थात् सर्पले वातावरणीय सन्तुलनका लागि समेत सहयोग गर्ने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *