बाढीमा बेपत्ता ओखलढुंगेलीको खोजी गर्न सरकारलाई खतिवडाको दबाब
काठमाडौं। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन रहेका ओखलढुंगाका नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति एवं पूर्वसांसद रामहरि खतिवडाको नेतृत्वमा गएको टोलीले गृहसचिवलाई भेटेर सम्पर्कविहीन नागरिकको अवस्थाबारे परिवारलाई तत्काल जानकारी गराउन आग्रह गरेको हो।
भेटमा खतिवडाले सम्पर्कविहीन नागरिक जुनसुकै स्थानमा रहेको भए पनि खोजीका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न माग गरे। साथै, उद्धारमा ढिलाइ नगर्न र परिवारलाई यथाशीघ्र वास्तविक अवस्थाबारे जानकारी दिन आग्रह गरिएको थियो।
जवाफमा गृहसचिवले सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि टोली परिचालन भइरहेको जानकारी दिए। केही नागरिक सुरुङभित्र रहेको सूचना प्राप्त भएको भन्दै उनीहरूको उद्धारका लागि आवश्यक काम भइरहेको उनले बताएका थिए।
बाढीपीडितका लागि राहत सामग्री व्यवस्थापन तथा वितरणलाई समेत प्राथमिकतामा राखिएको गृहसचिवले जानकारी गराएका थिए।
भेटमा कोशी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री प्रदीप सुनुवार, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल, ट्रेड युनियनका पूर्वअध्यक्ष खिलानाथ दाहाल, नेता बालकृष्ण दाहाल, नेपाली कांग्रेसकी पूर्वसभापति गोमा केसी, पार्टी सचिव अजय लुइटेललगायत सहभागी थिए।
टोलीले विपद्मा परेका नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र राहत वितरणमा कुनै कमजोरी हुन नदिन सरकारलाई निरन्तर प्रभावकारी रूपमा काम गर्न आग्रह गरेको छ।
तस्वीरहरू:



