बाढी उद्धारमा सघाउन अस्ट्रेलियाले ड्रोन विशेषज्ञ नेपाल पठाउँदै
काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा प्राविधिक सहयोग गर्न अस्ट्रेलियाले ड्रोन विशेषज्ञसहितको १५ सदस्यीय विपद् सहायता टोली नेपाल पठाउने भएको छ।
अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङले टोलीमा फायर एन्ड रेस्क्यु न्यु साउथ वेल्स तथा क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका विशेषज्ञसमेत सहभागी हुने जानकारी दिएकी छन्।
टोली आगामी केही दिनभित्र नेपाल आइपुग्नेछ। अत्याधुनिक ड्रोन प्रविधिमार्फत प्रभावित क्षेत्रको तीव्र नक्सांकन तथा तस्बिर संकलन गरी नेपाली अधिकारीलाई खोज तथा उद्धार अभियान सञ्चालनमा सहयोग पुर्याउने अस्ट्रेलिया सरकारले जनाएको छ।
नेपाल सरकारले औपचारिक रूपमा सहयोग मागेपछि अस्ट्रेलियाले टोली पठाउने निर्णय गरेको हो। यसअघि नै संकट व्यवस्थापनका लागि अस्ट्रेलियाका १९ कर्मचारी नेपाल आइसकेका छन्। उनीहरूमा कन्सुलर तथा मानवीय सहायता अधिकारी, संघीय प्रहरी र रक्षा मन्त्रालयका कर्मचारी छन्।
अस्ट्रेलिया सरकारले नेपालमा रहेका ३८ जना आफ्ना नागरिक अझै सम्पर्कविहीन रहेको जनाएको छ।
उनीहरूको अवस्थाबारे जानकारी लिन अस्ट्रेलियाली अधिकारीले नेपाल र चीनका सम्बन्धित निकायसँग समन्वय गरिरहेका छन्। सम्पर्कविहीन नागरिकका परिवार तथा आफन्तलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रयास भइरहेको पनि अस्ट्रेलियाले जनाएको छ।
नेपालमा बाढीबाट प्रभावितका लागि अस्ट्रेलियाली नागरिकले गरेको सहयोग ४ मिलियन अस्ट्रेलियाली डलरभन्दा बढी पुगेको छ। उक्त रकम आपत्कालीन सहायता गठबन्धनमार्फत नेपालमा राहत तथा पुनःस्थापनाका काममा प्रयोग भइरहेको छ।
त्यससँगै अस्ट्रेलिया सरकारले थप ३ मिलियन अस्ट्रेलियाली डलर सहयोग गर्ने घोषणा गरेको छ। यसबाट प्रभावित परिवारका लागि आवास, खानेपानी, सरसफाइ र स्वास्थ्य सेवामा सहयोग पुग्नेछ।
बालबालिकाका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालन तथा निर्माणमा समेत उक्त सहयोग उपयोग गरिने अस्ट्रेलिया सरकारले जनाएको छ।
सम्पर्कविहीन आफ्ना नागरिकको अवस्था यकिन गर्न तथा उनीहरूका परिवारलाई सहयोग पुर्याउन अस्ट्रेलिया निरन्तर नेपालका सम्बन्धित निकायसँग सम्पर्कमा रहेको जनाएको छ।
