रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा
सर्लाही। भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका आफन्तहरूका परिवार यतिबेला शोकमा हुनुहुन्छ ।बाढीपछि बेपत्ता हुनुभएकाको खबर पाउने आशमा रहेका परिवार समय घर्किंदै गएसँगै निराश बन्दै गएका छन् । रक्षाबन्धनका लागि घर आउने तयारी गर्नुभएका सर्लाहीको हरिवन नगरपालिका-५ घुर्कौलीका ३१ वर्षीय सुनिलकुमार कुशवाहाको परिवार पनि शोकमा हुनुहुन्छ ।
तीन दिदीबहिनीका भाइ सुनिल बाढी आउनु केही मिनेट पहिलासम्म परिवारको सम्पर्कमा हुनुहुन्थ्यो । भाइलाई राखी बाँध्ने तयारीमा विवाह गरेर जानुभएका दिदीबहिनी घर आउनुभएको थियो तर भदौ १० गते बिहान आएको विनाशकारी बाढीले राखी पर्व मनाउन घर आउने सुनिलको योजना असफल हुनुका साथै भाइको नाडीमा राखी बाँधेर दीर्घायुको कामना गर्ने दिदीबहिनीको सपना पनि अधुरो रह्यो ।
घरको एक मात्र दाजु बेपत्ता भएपछि सम्पूर्ण परिवार टुहुरो जस्तो बनेको सुनिलका भाइ तिरज कुशवाहले बताउनुभयो । घटनाको भोलिपल्टदेखि तिरज दाजुको खोजीमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेक आसपासमा भौँतारी रहनुभएको छ । घटनापछि परिवारसँगै उहाँको गाउँ शोकमा डुबेको छ । घरमा केही नयाँ मान्छे आए सुनिलका ८० वर्षीय बुबा राम औतार महतो हतारिँदै छोराको खबर बुझ्न पुग्नुहुन्छ ।
घटनाको नौ दिनसम्म पनि दाजुको अत्तोपत्तो नलागेको भन्दै तिरजले निराशा व्यक्त गर्दै भन्नुभयो, “घरमा दाजु लिएर आउँछ भनेर आश गरेर बस्नुभएको छ । यता दाजुको अत्तोपत्तो छैन् ।” सुनिल घरको छोराहरूमध्ये जेठो सन्तान हुनुहुन्थ्यो । माइलो भाइ विजय वैदेशिक रोजगारीका लागि मलेसिया पुग्नुभएको छ । सानैदेखि इमानदार र मेहनती सुनिल पढाइमा समेत अब्बल रहेको बुबा औतारले बताउनुभयो ।
खेतीकिसानी गरेर जसोतसो इन्जिनियर बनाएको छोरा बाढीपछि हराएको खबरले बुबाको आँखा ओभाएको छैन । परिवारका अन्य सदस्यसमेत सुनिल घर आउनेमा आशावादी देखिनुहुन्थ्यो । सुनिलले भारतको बेङ्लोरमा इन्जिनियरिङ गर्नुभएको हो । नेपाल आएपछि उहाँले झन्डै चार वर्ष रामेछापको एक निर्माण कम्पनीमा काम गर्नुभयो । उहाँले काम गर्ने ठाउँ र कामका बारे त्यतिबेला परिवारलाई राम्रोसँग जानकारीसमेत थिएन ।
पुसपछि रामेछापको जागिर छाडेर दाजु त्रिशूली ३ ‘बी’ मा काम गर्न जानुभएको तिरजले जानकारी दिनुभयो । सुनिलको श्रीमती र ७ महिना पुग्न लाग्नुभएको एक छोरी हुनुहुन्छ । स्याङ्जा निवासी निरू भट्टराईसँग ४ वर्षपहिले सुनिलको विवाह भएको थियो । गत फागुन २७ गते सुत्केरी श्रीमती र छोरी छोडेर नुवाकोट पुग्नुभएको उहाँ त्यसपछि घर आउन पाउनुभएको थिएन ।
बाढी आउनु दुई दिनपहिला मात्र सुनिल दाजुसँग कुरा भएको तिरजले सुनाउनुभयो, “दाजु मोटरसाइकल चलाउनु हुन्न । म काठमाडौँमा पढ्न बस्छु । मसँग मोटरसाइकल भएकाले ११ गतेसम्म दाजु काठमाडौँ आउने र रक्षाबन्धनका लागि १२ गते हामी दाजुभाइ सर्लाही पुग्ने तयारी थियो । दाजुले काम सकेर छिट्टै आउँछु भन्नुभएको थियो । बाढी गएको दिन बुधबार बिहान ८ः०० बजेतिर घरमा भाउजूसँग पनि कुरा गर्नुभएको रहेछ । त्यसपछि दाजु सम्पर्कविहीन हुनुभयो ।”
सुनिलले १० गते बिहान ८ः०० बजे सर्लाहीमा श्रीमती निरूसँग फोनमा रक्षाबन्धनका लागि घर आउनलागेको बताउनुभएको थियो । सोही दिन एक्कासि भोटेकोशीमा भीषण बाढी आएको र ठूलो बितण्डा मच्चाएको श्रव्यदृश्य सामग्रीहरू सामाजिक सञ्जालमा फैलिन थाल्यो । “सुरुमा सुनिल नुवाकोटको कुनै सुरक्षित ठाँउमा हुनुहुन्छ भन्ने लाग्यो”, भाइ तिरजले भन्नुभयो, “त्यसपछि लगातार सम्पर्कको प्रयास गर्यौँ तर कुनै प्रतिक्रिया आएन त्यसपछि हामी छाँगाबाट खसे जस्तै भएका छाँै ।”
“घटनाको दिन के गर्ने कुनै भेउ पाएनौँ । भोलिपल्ट नुवाकोट पुगे । खोज्दै जाँदा थाहा भयो दाजु बेत्रावतीभन्दा धेरै माथि त्रिशूली ३ ‘बी’ मा काम गर्नुहुँदो रहेछ”, भाइ तिरजले भन्नुभयो । उहाँका अनुसार सुनिलको मोबाइल ‘लोकेसन’ बुधबार बिहान ९ः१० मा अन्तिम पटक त्रिशूली बजारमा सक्रिय देखिएको थियो । “दाजुसँगै काम गर्ने एकजना कर्मचारी भेटेको थिए । बाढी हेरेर आउँछु भनेर निस्किनु भएछ । भीषण बाढी देखेपछि माथितिर भागेर बाँचेको सुनाउनुभयो”, उहाँले भन्नुभयो ।
“मेरो दाजु काम गर्दै हुनुहुन्थ्यो रे । फर्केर गएर भाग भन्न भ्याइन दाजुसँगै काम गर्ने कर्मचारीले भन्नुभयो । माथि पुगेर हेर्दा पूरै बगर बनिसकेको थियो । त्यसपछि दुई दिन जङ्गलमा बसेर ज्यान जोगाएँ”, भाइ तिरजले भन्नुभयो । उहाँको कुरा सुनेपछि दाजु भेट्छु भन्ने आश मरिसकेको उहाँको भनाइ छ । तर पनि मनमा दाजु कतै अलपत्र हुनुहुन्छ कि झैँ लागिरहने बताउँदै उहाँले सोही आशले यो ठाउँ छाडेर फर्कन नसकेको उल्लेख गर्नुभयो । दाजुको अफिस भएको ठाउँको नामोनिसान छैन ।
“दाजु काम गरेको ठाउँमा खोजी हुँदैछ । ठाउँ निकै जोखिमपूर्ण छ”, तिरजले भन्नुभयो । त्रिशूली ३ ‘बी’ तर्फ उद्धारको कार्य ढिलाइ भएको उहाँले दुखेसो पोख्नुभयो । गृहमन्त्रीदेखि आर्मी, पुलिस र सशस्त्र सबैलाई अनुनयविनय गरिरहेको भन्दै उहाँले दिदीबहिनी अझै भाइको दीर्घायुको कामना गर्न राखी लिएर बाटो कुरिरहेका बताउनुभयो ।
तिरजका अनुसार उहाँका दाजुले काम गरेको कम्पनीका सेफ्टी डिपार्टका एक जना कर्मचारी सोमबार मात्र सम्पर्कमा आउनुभएको छ । “ती कर्मचारी पनि ९ गते छुट्टीमा रहेकाले बच्नुभएको रहेछ”, उहाँले भन्नुभयो, “त्यसबाहेक कम्पनीका कोही पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । हामीलाई प्रहरीले कम्पनीका प्रतिनिधिको फोन नम्बर दिएका छन् । फोन कसैको उठ्दैन । हामी निकै पीडामा छौँ ।”
