`

मकालुमा शिक्षकको गोली हानी हत्या, के भन्छ प्रहरी?

रामचन्द्र जोशी १९ भदौ २०८३ १२:५०
फिचर

काठमाडौं। संखुवासभाको दुर्गम मकालु गाउँपालिकामा एक शिक्षकको गोली हानी हत्या भएको छ।

मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३६ वर्षीय नरकुबिर खम्बु राईको गएराति भरुवा बन्दुकको गोली प्रहारबाट हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार राईलाई राति करिब ७ बजे विद्यालय नजिकैबाट नजिकको दूरीमा गोली प्रहार गरिएको थियो। गोली लागेर गम्भीर घाइते भएका राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राईको देब्रे कोखामा गोली लागेको थियो। घटनास्थलमा रगतसमेत देखिएको र गोली प्रहारपछि उनी त्यहीँ ढलेका थिए। प्रारम्भिक विवरणअनुसार गोली भरुवा बन्दुकबाट प्रहार भएको देखिए पनि घटनामा प्रयोग भएको हतियार र त्यसको प्रयोग गर्ने व्यक्तिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

राई विद्यालय परिसरमै बस्दै आएका थिए। घटनाको समयमा उनी विद्यालयमै रहेका थिए। राति खाना खाइसकेपछि हात धुनका लागि बाहिर निस्किएका बेला उनीमाथि गोली प्रहार भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

राई बाहिर निस्किएको केही समयमै बन्दुक पड्किएको आवाज सुनिएको थियो। गोलीको आवाजसँगै उनी ढलेको सोही विद्यालयकी शिक्षिका टिकामाया राईले प्रहरीलाई बताएकी छन्।

घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार मृतक राईमाथि सर्ट रेञ्जबाट गोली प्रहार भएको हो। ती अधिकारीले भने, ‘गोली विद्यालय नजिकैबाट प्रहार भएको देखिन्छ। गोली चलेपछि घटनास्थलमा पुगेका शिक्षक तथा अन्य व्यक्तिले राईलाई गम्भीर अवस्थामा फेला पारेका थिए। तर, गोली लागिसकेपछि उनको घटनास्थलमै मृत्यु भएको देखिन्छ।’

कसले र किन गोली हान्यो ?

शिक्षक राईको हत्या कसले र किन गरेको हो भन्ने विषय अझै अनुसन्धानरत रहेको छ। प्रहरीले अहिलेसम्म हत्याको कारण यकिन गर्न सकेको छैन।

ती प्रहरी अधिकारीले नेपाल वान एचडीसँग कुरा गर्दै भने, ‘मृतक राईसँग कसैको व्यक्तिगत विवाद थियो वा थिएन, हत्या पूर्वनियोजित थियो कि तत्कालीन विवादका क्रममा गोली चलाइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’

ती अधिकारीका अनुसार घटनास्थल र आसपासको क्षेत्रमा रहेका सम्भावित प्रमाण संकलन गर्ने तथा घटनाबारे जानकारी भएका व्यक्तिहरूसँग सोधपुछ गर्ने काम भइरहेको छ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्ति घटनापछि कुन दिशातर्फ भागेको थियो, घटनास्थल आसपासमा अन्य व्यक्तिको उपस्थिति थियो कि थिएन तथा हत्यामा एक जना मात्र संलग्न थिए वा अरूको पनि संलग्नता थियो भन्ने विषयमा समेत अनुसन्धान अघि बढाएको छ।

घटना भएको स्थान भौगोलिक रूपमा निकै विकट क्षेत्रमा पर्छ। इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट घटनास्थल करिब ६ घण्टाको पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ।

घटनाको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट समेत प्रहरी टोली घटनास्थलतर्फ पठाइएको थियो।

दुर्गम भूगोल र लामो पैदल यात्रा गर्नुपर्ने भएकाले घटनास्थलमा प्रहरी पुग्नसमेत समय लागेको बताइएको छ। प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी घटनासँग सम्बन्धित प्रमाण तथा वस्तुहरू सुरक्षित गर्ने र प्रत्यक्षदर्शी तथा स्थानीयसँग जानकारी लिने काम गरिरहेको छ।

घटनास्थलमा प्रारम्भिक जाँच तथा आवश्यक मुचुल्का प्रक्रिया पूरा गरेपछि राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ। शव परीक्षणबाट गोली लागेको स्थान, गोलीको प्रकृति तथा अन्य चिकित्सकीय तथ्य स्पष्ट हुने प्रहरीले जनाएको छ। घटनास्थलबाट प्राप्त प्रमाण र पोस्टमार्टम रिपोर्टलाई अनुसन्धानको महत्वपूर्ण आधारका रूपमा लिइनेछ।

प्रहरीले घटनामा प्रयोग भएको भनिएको भरुवा बन्दुक, गोली तथा अन्य सम्भावित प्रमाणका विषयमा पनि अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डीएसपी कुमारप्रसाद मैनालीले घटना गम्भीर रहेको भन्दै घटनाको कारण र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको बताएका छन्।

प्रहरीले घटनास्थलको भौतिक प्रमाण संकलनसँगै स्थानीय बासिन्दा, विद्यालयमा कार्यरत शिक्षक तथा घटनाबारे जानकारी राख्ने सम्भावित व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ।

घटनास्थलको भौगोलिक अवस्था, विद्यालयमा शिक्षकहरू बस्ने व्यवस्था तथा घटनाका बेला विद्यालय परिसरमा रहेका व्यक्तिको विवरणसमेत अनुसन्धानको दायरामा राखिएको प्रहरीको भनाइ छ।

राईमाथि गोली प्रहार गर्ने व्यक्ति घटनास्थलमै चिनजानको व्यक्ति थियो वा बाहिरबाट आएको थियो भन्ने विषयसमेत खुल्न बाँकी छ। प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन सबै सम्भावित कोणबाट अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *