बाढी प्रभावितको उद्धारपछि पुनर्निर्माणमा खटिँदै युवा संघ, रसुवा-नुवाकोट पुग्यो टोली
काठमाडौं। रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावितको सहयोगका लागि युवा संघ नेपालले स्वयंसेवक टोली परिचालन गरेको छ।
युवा संघ नेपालका संयोजक धर्मबहादुर शाहीको नेतृत्वमा राहत सामग्रीसहितको टोली शुक्रबार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो।
टोलीले तत्काल प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण तथा मानवीय सहयोग गर्ने जनाएको छ। त्यसपछि भने बाढी र पहिरोले क्षति पुर्याएका क्षेत्रमा पुनर्स्थापना तथा पुनर्निर्माणका काममा समेत स्वयंसेवक परिचालन गर्ने तयारी संघको छ।
युवा संघ नेपालका अनुसार प्रभावित बस्तीको सरसफाइ, भग्नावशेष हटाउने, क्षतिग्रस्त संरचना व्यवस्थापन तथा पुनर्निर्माणमा आवश्यक श्रमदानका लागि स्वयंसेवक परिचालन गरिनेछ।
संघले विपद्को सामना गर्न राहतदेखि पुनर्निर्माणसम्म सरकारी तथा गैरसरकारी निकायसहित सबै पक्षबीच सहकार्य आवश्यक रहेको जनाएको छ।
