दसौँ दिन : हाइड्रोपावरका सुरुङमा उद्धार अभियान तीव्र
काठमाडौं । भोटेकोशीको बाढीले तहसनहस पारेको दसौँ दिनमा बल्ल सुरुङभित्र जीवनको संकेत भेटिएको छ।
रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा हराइरहेका नागरिकको खोजीमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले त्रिशूली–३ ‘ए’बाट दुई जनालाई जीवितै बाहिर निकालेको हो।
सञ्जय साह र कबीर महर्जनलाई सुरुङभित्र करिब १७० मिटरबाट उद्धार गरिएको नेपाली सेनाका महासेनानी झवीन्द्र रेश्मीले जानकारी दिए। सोही आयोजनाबाट एक जनाको शवसमेत निकालिएको छ।
बाढी गएको दस दिनसम्म सुरुङमा फसेकाहरूको अवस्था अज्ञात रहँदा परिवार र आफन्तको आशा निराशामा बदलिँदै थियो। तर दुई जनालाई जीवितै निकालिएपछि अन्य सुरुङमा पनि मानिस जीवित हुन सक्ने आशा फेरि बलियो बनेको छ।
नुवाकोटस्थित नम्बर १ सैन्य तालिम केन्द्रबाट उद्धार अभियानको समन्वय गरिरहेका रेश्मीका अनुसार सेनाले अहिले सातवटा सुरुङमा खोजी गरिरहेको छ।
त्रिशूली–३ ‘बी’मा उद्धार टोली करिब ३० मिटरभित्र पुगेको छ। त्रिशूली–६ ‘बी’मा सुरुङभित्र थुप्रिएको माटो र लेदो हटाउने काम जारी छ। चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा सेना १५० मिटरभित्र पुगेको छ।
लाङटाङ जलविद्युत् आयोजनामा विभिन्न ठाउँबाट प्वाल पारेर सुरुङभित्र प्रवेश गर्ने प्रयास भइरहेको छ। २१६ मेगावाटको अपर त्रिशूली–१ मा उद्धारकर्मी करिब २०० मिटरभित्र पुगेका छन्। त्यहाँ र्याफ्ट प्रयोग गरेर समेत खोजी भइरहेको छ।
रसुवागढी आयोजनामा उद्धार टोली सुरुङभित्र २७५ मिटर पुगेको छ। इन्द्रेणीघाटमा तुइनबाट खोजी भइरहेको छ भने नुवाकोटको देवीघाटमा सेनाले तुइन निर्माण गरिरहेको छ। देवीघाटमा बेलीब्रिज निर्माणको काम पनि सुरु भएको छ।
यसबीच रसुवा र नुवाकोटका २१९ स्थानमा सुरक्षाकर्मी परिचालन गरी खोजी, उद्धार र राहत वितरण भइरहेको सेनाले जनाएको छ।
शुक्रबार मात्रै हेलिकोप्टरबाट १८ जनाको उद्धार गरिएको महासेनानी रेश्मीले बताए। उद्धार गरिएकामा ११ पुरुष, ७ महिला र एक चिनियाँ नागरिक छन्।
