भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन सिजपको आग्रह
काठमाडौं। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाको खोजी तथा उद्धारलाई अझ प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।
अभियानका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेले जारी गरेको विज्ञप्तिमा बाढी प्रभावित परिवार र समुदायको अवस्था अझै कठिन रहेकाले राहत तथा मानवीय सहायता सबै प्रभावित क्षेत्रमा समान रूपमा पुर्याउन माग गरिएको छ।
सिजपले विपद्मा परेका बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण र शिक्षालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ। परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिकाको तत्काल पहिचान गरी सुरक्षित स्थानमा संरक्षण, परिवारसँग पुनर्मिलन तथा आवश्यक स्वास्थ्य र मनोसामाजिक सहयोग उपलब्ध गराउनुपर्ने उसको भनाइ छ।
विपद्को समयमा बालबालिका बेचबिखन तथा ओसारपसारको जोखिममा पर्न सक्ने भन्दै अभियानले प्रभावित क्षेत्रमा विशेष निगरानी र सुरक्षा व्यवस्था गर्न आग्रह गरेको छ। बाढीबाट प्रभावित बालबालिकामा देखिन सक्ने डर, तनाव, चिन्ता तथा मानसिक आघात कम गर्न बालमैत्री मनोसामाजिक सहयोगलाई राहत तथा पुनःस्थापनाको योजनामै समेट्नुपर्ने सिजपले जनाएको छ।
त्यस्तै, पीडित तथा प्रभावित व्यक्तिको गोपनीयता, मर्यादा र सम्मानको संरक्षण गर्न पनि अभियानले आग्रह गरेको छ। अनुमति वा आवश्यक संवेदनशीलताबिना पीडित बालबालिका तथा परिवारका तस्वीर, भिडियो र व्यक्तिगत अवस्थासम्बन्धी सामग्री सार्वजनिक गर्दा उनीहरूमा थप मानसिक असर पर्न सक्ने भएकाले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न अपिल गरिएको छ।
बेपत्ता व्यक्ति तथा पहिचान नखुलेका शवबाट उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमलाई ध्यान दिँदै आवश्यक सावधानी अपनाउन र बालबालिकालाई त्यस्ता स्थानमा जानबाट रोक्नसमेत सिजपले आग्रह गरेको छ।
अभियानले बालबालिका तथा विपद् प्रभावित व्यक्तिको पहिचान, तस्वीर र व्यक्तिगत विवरण प्रयोग गर्दा संवेदनशीलता अपनाउन सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा अन्य सरोकारवालालाई आग्रह गरेको छ।
सिजपले राष्ट्रिय मानवअधिकार आयोगलाई समेत प्रभावित क्षेत्रमा बालबालिकाको अवस्थालाई विशेष प्राथमिकतामा राखी अनुगमन गर्न तथा सरकारलाई आवश्यक सुझाव र मार्गदर्शन दिन आग्रह गरेको छ।
