रसुवामा बाढीले स्वास्थ्य क्षेत्रमा पुर्याएको क्षतिको विवरण संकलन हुँदै
काठमाडौं। रसुवामा बाढीपछि स्वास्थ्य क्षेत्रमा परेको असरको विवरण संकलन र अभिलेखीकरण सुरु भएको छ ।
जनस्वास्थ्य कार्यालय रसुवाले जिल्लाका स्वास्थ्य संस्था, सेवा, औषधि, स्वास्थ्य सामग्री तथा जनशक्तिमा पुगेको क्षतिको तथ्यांक जुटाइरहेको जनाएको छ ।
संकलित विवरणका आधारमा प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुग्ने कार्यालयको अपेक्षा छ ।
स्वास्थ्य क्षेत्रको क्षति र आवश्यकतासम्बन्धी विवरण संकलनमा सम्बन्धित सरकारी निकाय, गैरसरकारी संस्था तथा अन्य सरोकारवालासँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।
यसैबीच, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्वास्थ्य क्षेत्रसम्बन्धी तथ्यांक वा सूचना माग गर्दा औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने भएको छ ।
सूचना लिन संस्थाको आधिकारिक लेटरहेडमा निवेदन दिनुपर्नेछ । निवेदनमा संस्थाको उद्देश्य, माग गरिएको विवरण र त्यसको प्रयोजन स्पष्ट खुलाउनुपर्नेछ।
कार्यालयले तोकेको प्रक्रिया पूरा नगरी माग गरिएको तथ्यांक वा विवरण उपलब्ध नगराउने स्पष्ट पारेको छ।
