`

कूटनीतिज्ञ चढेको रेल छुटेको १५ मिनेटपछि रुसी ड्रोनले अर्को रेलमा हान्यो

Nepal One HD २९ भदौ २०८३ १२:१७
प्रमुख खबर

काठमाडौं । युक्रेनको पोल्यान्ड सीमासँग जोडिएको याहोदिन क्षेत्रमा यात्रुवाहक रेलमाथि रुसी ड्रोन आक्रमण भएको छ। ड्रोनले रेलको इन्जिनमा प्रहार गरे पनि यात्रुहरूतर्फ भने कुनै मानवीय क्षति भएको छैन।

आक्रमण भएको रेलमार्गबाट केही समयअघि मात्रै बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनसहित युरोपका उच्च सुरक्षा अधिकारीहरू सवार रेल गुज्रिएको खुलेपछि घटनालाई गम्भीर रूपमा हेरिएको छ।

युक्रेनी अधिकारीहरूका अनुसार याहोदिन पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटरको दूरीमा पर्छ। जोनसनसँगै बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेललगायत युरोपका विभिन्न देशका सुरक्षा सल्लाहकारहरू पनि सोही रेलमार्ग हुँदै किभबाट फर्किरहेका थिए।

उनीहरू किभमा भएको सुरक्षा सम्मेलनमा सहभागी भएर फर्किएका थिए। संयोगवश उनीहरू सवार रेल निर्धारित समयभन्दा केही अगाडि नै स्टेसनबाट छुटेकाले ड्रोन आक्रमणबाट जोगिएको बताइएको छ।

युक्रेनी सरकारी रेलवे कम्पनीका अनुसार रुसी हवाई आक्रमणको जोखिमलाई ध्यानमा राखेर कूटनीतिज्ञहरू सवार रेलको समयतालिका परिवर्तन गरिएको थियो। त्यसैका कारण उक्त रेल सामान्य समयभन्दा अगाडि नै गन्तव्यतर्फ हिँडेको थियो।

त्यसको करिब १५ मिनेटपछि भने अर्को यात्रुवाहक रेलमाथि ड्रोन प्रहार भएको हो। आक्रमण हुनुअघि नै यात्रुहरूलाई रेलबाट बाहिर निकाल्न निर्देशन दिइएको रेलवे कम्पनीले जनाएको छ।

रुसी पक्षले पनि आक्रमण भएको पुष्टि गरेको छ। तर, उसले रेलमा रहेका यात्रु वा कूटनीतिज्ञलाई नभई पश्चिमी युक्रेनको रेल पूर्वाधारलाई आफ्नो निशाना बनाइएको दाबी गरेको छ।

यता, युक्रेनी रेलवे कम्पनीले भने ड्रोनको वास्तविक लक्ष्य कूटनीतिज्ञहरू सवार रेल नै हुन सक्ने आशंका गरेको छ। घटनामा प्रयोग भएको ड्रोन जेट–प्रोपेल्ड प्रकारको रहेको र त्यसले रेलको इन्जिनमा प्रहार गरेको बताइएको छ।

कूटनीतिज्ञहरू सवार रेल र आक्रमणमा परेको रेलबीचको छोटो समय अन्तरले घटनामाथि थप प्रश्न उठाएको छ।

यद्यपि, आक्रमण जानाजान कूटनीतिज्ञहरूलाई लक्षित गरेर गरिएको थियो वा रेल पूर्वाधारमाथिको नियमित आक्रमणकै हिस्सा थियो भन्ने विषयमा स्वतन्त्र पुष्टि भइसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *