`

भोटेकोशी बाढी : १९१ सवारी साधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

Nepal One HD १ असोज २०८३ ७:३०
प्रमुख खबर

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ।

महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले देशभरका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुग्दा उक्त सवारीसाधनका चालक, सहचालक र यात्रु गरी ३४४ व्यक्ति बेपत्ता भएका छन्।

महासंघका अनुसार भोटेकोशी बाढीबाट नेपाल अरनिको यातायात सेवा प्रालिअन्तर्गत १९ बस, एक मिनिट्रक, दुई जीप, चार कन्टेनरमा क्षति पुग्दा ५० मजदुर बेपत्ता भएका छन्।

यस्तै, नमस्ते पासाङ ल्हामु यातायात प्रालि बालाजुका १९ बस क्षति हुँदा २१ व्यक्ति बेपत्ता भएका छन्। भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति पुग्दा दुई चालक बेपत्ता भएका छन्।

यसैगरी, हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर, एक सुमोमा क्षति पुग्दा १० चालक बेपत्ता भएका छन्। नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गत सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति हुँदा ४५ चालक बेपत्ता भएका छन्।

नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको ५९ ट्रक र कन्टेनरमा क्षति पुग्दा ७० जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबसमा क्षति पुगेको छ। यसैगरी, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति पुग्दा एक चालक र २२ यात्री बेपत्ता भएका छन्।

यस्तै, धादिङ मण्डली यातायात प्रालिको एक बसमा क्षति पुग्दा एक चालक र २५ तीर्थयात्री बेपत्ता भएको महासंघका महासचिव गौतमले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *