प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब रु २३ करोड थपिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा बुधबारको तुलनामा आज रु २२ करोड ७५ लाख ३८ हजार ३३१ थपिएको हो ।
कोषमा आज साँझसम्म विभिन्न नौवटा बैंकमा मौज्दात रकम रु १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ पुगेको छ । त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ ।
कार्यालयका अनुसार सबै खातामा गरी रु १४ अर्ब ५६ करोड ३८ लाख सात हजार ५५६ जम्मा मौज्दात छ ।
कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा भइसकेको छ ।
सरकारले हालै रसुवाका बाढीप्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक रु १५ हजार र थप प्रत्येक सदस्यका लागि रु दुई हजार अतिरिक्त उपलब्ध गराइने छ ।
