के क्लासेन एनपीएल खेल्न नेपाल आउन लागेका हुन्?
काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुँदैछ। एसोसिएट क्रिकेटकै ठूलो प्रतियोगितामध्ये एक मानिएको एनपीएल नजिकिँदै जाँदा विश्वभर रहेका नेपाली क्रिकेट समर्थकमा उत्साह बढेको छ।
एनपीएलका फ्रेन्चाइज टोलीहरूले प्रतियोगिताका लागि विदेशी खेलाडी भित्र्याउने क्रमसमेत सुरु गरिसकेका छन्। चर्चित विदेशी खेलाडीको आगमनले प्रतियोगिताप्रतिको आकर्षण थप बढाइरहेको छ।
केही दिनअघि मात्रै काठमाडौं गुर्खाजले चर्चित अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरलाई तेस्रो संस्करणको एनपीएलका लागि अनुबन्ध गर्ने घोषणा गरेको थियो। त्यसलगत्तै विराटनगर किङ्सले श्रीलंकाका पूर्वकप्तान चरिथ असलंकालाई टोलीमा भित्र्याउने सार्वजनिक गरेको थियो। टेस्ट खेल्ने राष्ट्र जिम्बाब्वेका कप्तान सिकन्दर रजा पनि एनपीएलको तेस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्। उनी चितवन राइनोजबाट खेल्नेछन्।
यी चर्चित खेलाडीको आगमन निश्चित भएसँगै दक्षिण अफ्रिकाका स्टार क्रिकेटर हेनरिच क्लासेन पनि एनपीएल खेल्न नेपाल आउने चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। क्लासेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने दाबी गर्दै फेसबुक, इन्स्टाग्राम र टिकटकमा विभिन्न पोस्ट तथा सामग्री सार्वजनिक भइरहेका छन्।
‘के क्लासेन रोयल्सबाट एनपिएल खेल्न नेपाल आउन लागेका हुन्?’ हामीले यही प्रश्न रोयल्सका टिम म्यानेजर सुनिल थापालाई सोधेका छौँ।
रोयल्सले भने क्लासेनसँग कुनै कुराकानी नभएको स्पष्ट पारेको छ। क्लासेन रोयल्सबाट खेल्न लागेको भन्ने चर्चा हल्ला मात्रै भएको टोलीका टिम म्यानेजर सुनिल थापाले बताए।
‘हामीले कुराकानी गरेका छैनौँ, यो सामाजिक सञ्जालमा फैलाइएको र्युमर मात्रै हो,’ थापाले नेपालवान एचडीसँग भने, ‘टेस्ट प्लेइङ नेसनकै अरू बिग प्लेयरको बारेमा भने कुरा भइरहेको छ।’
यद्यपि, सुदूरपश्चिम रोयल्सले टेस्ट खेल्ने राष्ट्रका अन्य चर्चित खेलाडीसँग कुराकानी गरिरहेको जनाएको छ।
एनपीएलको तेस्रो संस्करणमा विदेशी खेलाडीको सहभागितालाई लिएर सुरुदेखि नै चर्चा बढिरहेको छ। वार्नर, असलंका। रजाजस्ता चर्चित खेलाडीको आगमनले प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षण बढाउनेछ।
