दुई जिल्ला जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल [तस्वीर]
बागलुङ। कुनै समय बागलुङ बजार आउन पर्वतको पाङका बासिन्दाले घण्टौँ हिँड्नुपर्थ्यो। अहिले त्यही यात्रा १० मिनेटमै छोटिएको छ।
कालीगण्डकी नदीमाथि बनेको ५६७ मिटर लामो झोलुङ्गे पुलले बागलुङ र पर्वतको दूरी छोट्याएको हो। पुलले बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङलाई जोडेको छ।
२०७७ सालदेखि सञ्चालनमा आएको यो पुल ‘सिङ्गल स्पान’मा बनेको हो। यसको लम्बाइ ५६७ मिटर छ। पुल कालीगण्डकी नदीबाट १२२ मिटर उचाइमा छ।
बागलुङ नगरपालिकाले पुलको नाम अंग्रेजीमा ‘गण्डकी गोल्डेन ब्रिज’ र नेपालीमा ‘गण्डकी सुनौलो झुला’ राखेको छ। करिब ९ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण भएको पुल अहिले स्थानीय आवतजावतसँगै पर्यटनको प्रमुख आकर्षण बनेको छ।
पुल बनेपछि बागलुङ बजार आउने पर्यटकको संख्या पनि बढेको स्थानीयको भनाइ छ। यसअघि बागलुङ कालिका मन्दिरसम्म पुग्ने धेरै पर्यटक बजारतर्फ आउँदैनथे। अहिले बागलुङ कालिका, पञ्चकोट र शालिग्राम सङ्ग्रहालयसँगै झोलुङ्गे पुल पनि पर्यटकको रोजाइमा परेको छ।
पर्वतबाट म्याग्दी र मुस्ताङ जाने पर्यटकका लागि पनि यो पुल आकर्षण बनेको छ। कालीगण्डकी किनार हुँदै म्याग्दी र मुस्ताङ जाने क्रममा पर्यटक पुलसम्म पुग्ने गरेका छन्।
पुलमा फोटो खिच्ने र टिकटक बनाउनेको भीड देखिन्छ। बिदाका दिन सयौँ पर्यटक पुलमा पुग्ने गरेका छन्।
बागलुङ जिल्ला झोलुङ्गे पुलका लागि पनि परिचित छ। कालीगण्डकीमाथिको यो लामो पुलले भने दुई जिल्लाका बासिन्दाको आवतजावत सहज बनाउनुका साथै पर्यटनमा नयाँ आकर्षण थपेको छ।


















