`

एमाले केन्द्रीय समिति बैठक : आउने क्रममा एमाले केन्द्रिय सदस्यहरु

Nepal One HD ५ असोज २०८३ ११:५७
फोटोफिचर

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज बस्दैछ। ललितपुरको भैंसीपाटीस्थित रामवाग पार्टी प्यालेसमा बैठक बस्न लागेको हो।

फागुनमा भएको निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरूले निर्वाचन समीक्षा र पार्टीको आगामी दिशाबारे धारणा राख्ने तयारी छ। सबै सदस्यलाई बोल्ने समय दिने तयारी एमालेले गरेको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनका आधारमा राजनीतिक प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्।

केन्द्रीय समिति बैठकअघि पार्टी सचिवालय बैठक च्यासलस्थित पार्टी कार्यालयमा बसेको थियो। बैठकले केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेन्डामाथि छलफल गरेको उपमहासचिव लेखराज भट्टले बताए।

उनका अनुसार सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनबारे भने थप छलफल भएन।

‘कार्यदलको प्रतिवेदनको विषयमा प्रवेश भएन। अहिले केन्द्रीय समितिमा जाने एजेन्डामा विशेष गरी छलफल भयो,’ भट्टले भने।

कार्यदलको औचित्य सकिएको हो भन्ने प्रश्नमा उनले कार्यदलले प्रतिवेदन बुझाएसँगै काम पूरा भएको बताए।

‘हिजो प्रतिवेदन बुझाइसकेपछि कार्यदल रहेन। अब कार्यदल टुङ्गियो,’ उनले भने।

भट्टका अनुसार कार्यदलले दिएको सुझाव र निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदनमै समेटिएको छ। सुझावलाई छुट्टै अनुसूचीमा नराखी प्रतिवेदनभित्रै समावेश गरिएको उनले बताए।

एमालेले कार्यदलको प्रतिवेदन पारित गरिसकेको र अब त्यसबारे थप छलफल केन्द्रीय समिति बैठकमा हुने जनाएको छ।

बैठकमा निर्वाचन समीक्षा, पार्टीको आगामी रणनीति र संगठनात्मक विषयमा छलफल हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *