`

बाढीबाट जोगिएकालाई वर्षाको अर्को मार

Nepal One HD ९ असोज २०८३ १६:०८
प्रमुख खबर

काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले घरबारविहीन बनेका परिवारलाई निरन्तरको वर्षाले फेरि समस्यामा पारेको छ।

बाढीपछि अस्थायी टहरा र टेन्टमा आश्रय लिइरहेका परिवारका बासस्थानमै पानी पसेको छ। टेन्टभित्र पानी पसेपछि राहतमा पाएका खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री जोगाउनै मुस्किल भएको छ।

बिहीबारदेखि सुरु भएको वर्षा शुक्रबार पनि रोकिएको छैन। खुला स्थानमा राखिएका टेन्ट वरिपरिको जमिन हिलाम्मे बनेको छ। छानाबाट चुहिएको पानी र बाहिरबाट बगेको भल टेन्टभित्र पस्दा विस्थापितको दैनिकी थप कष्टकर बनेको हो।

रसुवाबाट विस्थापित भएर नुवाकोटमा बस्दै आएका उत्तरगया गाउँपालिका–१ का वडाध्यक्ष मानसिंह तामाङका अनुसार प्रभावित परिवारलाई वर्षाले थप समस्यामा पारेको छ।

उनका अनुसार टेन्टमा पानी पस्दा सामान भिज्ने समस्या मात्रै होइन, चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई समेत समस्या भएको छ।

रसुवाबाट विस्थापित भएर नुवाकोटका विभिन्न स्थानमा बस्दै आएका ३४४ परिवारमध्ये १४२ परिवार विदुर नगरपालिका–५ बाणाचौतारोमा अस्थायी टेन्टमा बसिरहेका छन्।

खाल्डेबाट विस्थापित भएर बाणाचौतारोमा बस्दै आएका दावामिङ्मार तामाङका अनुसार वर्षाका कारण टेन्टभित्र बस्नसमेत कठिन भएको छ।

‘टेन्टमा पानी पसेपछि सामान जोगाउनै समस्या भएको छ। जमिन हिलाम्मे बनेको छ। चिसो बढेपछि ज्येष्ठ नागरिक र बालबालिकालाई झन् समस्या भएको छ,’ उनले भने।

बाढीले घर लगेपछि जसोतसो टेन्टमा पुगेका परिवारलाई अहिले वर्षाले अर्को परीक्षा थपेको छ।

अस्थायी संरचनामा बसिरहेका परिवारलाई वर्षाबाट जोगाउन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले त्रिपाल उपलब्ध गराउन थालेको छ।

शाखाका मन्त्री उद्धव शर्मा रिजालका अनुसार बाणाचौतारोसहित जिल्लाका पाँच स्थानमा रहेका प्रभावितको टेन्टमा थप त्रिपाल ओढाउने काम भइरहेको छ।

टेन्टभित्र भल पस्न नदिन चारैतिरबाट पानीको निकास बनाउने काममा स्वयंसेवक परिचालन गरिएको छ।

‘वर्षाका कारण प्रभावितको बसाइ थप कष्टकर बनेपछि टेन्टमा त्रिपाल ओढाउने र पानीको निकास बनाउने काम भइरहेको छ,’ रिजालले भने, ‘आज साँझसम्म सबै स्थानका टेन्टमा त्रिपाल लगाउने लक्ष्य छ।’

वर्षाले अस्थायी बासस्थानमा मात्रै समस्या थपेको छैन। बाढीले पुरिएका संरचनाबाट सामान निकाल्ने र खोज तथा उद्धारको कामसमेत प्रभावित भएको छ।

त्रिशूली बजार तथा त्रिशूली नदीपारि बाढीले पुरिएका संरचनामा खोजी गर्न वर्षाले कठिनाइ भएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए।

बाढीले पुरिएका भग्नावशेष हटाएर सुरक्षित सामान निकाल्न नगरपालिका र विभिन्न संघसंस्थाले प्रभावित परिवारलाई सहयोग गरिरहेका छन्। तर लगातारको वर्षाले भग्नावशेष र आसपासको क्षेत्र हिलाम्मे भएपछि काम गर्न कठिन भएको श्रेष्ठले बताए।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटमा २ हजार १०० भन्दा बढी घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन्।

बाढीपछि घरबारविहीन भएका परिवारसँगै भाडामा बस्ने तथा व्यवसाय गर्नेहरू समेत प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीपछि जिल्लामा प्रभावित परिवारको संख्या २ हजार ५०० भन्दा बढी पुगेको छ।

केही परिवारले बाढीले पुरिएका घर तथा संरचनाबाट सामान निकालिसकेका छन्। धेरै परिवार भने अझै अस्थायी टहरा र राहत सामग्रीकै भरमा छन्।

अहिलेको वर्षाले उनीहरूको समस्या झन् थपिएको छ। टेन्टमा पानी, जमिनमा हिलो र बढ्दो चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी तथा बिरामी बढी प्रभावित भएका छन्।

बाढीको पीडाबाट बल्लतल्ल जोगिएका परिवारका लागि अहिले निरन्तरको वर्षा अर्को विपत्तिजस्तै बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *