`

सुस्तामा नारायणी पस्यो

Nepal One HD १० असोज २०८३ १३:४२
प्रमुख खबर

नवलपरासी । नारायणी नदीको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ बाट सशस्त्र प्रहरीले २९ जनाको उद्धार गरेको छ।

केही दिनदेखि लगातार परेको वर्षाका कारण नारायणीमा पानीको बहाव बढेपछि सुस्ताको थारु टोल डुबानमा परेको थियो। बाढी बस्तीमा पस्न थालेपछि आज बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमान्डमा २१ जनाको टोली घटनास्थल पुगेको थियो। टोलीले डुबानमा फसेका २९ स्थानीयलाई सकुशल उद्धार गरेको हो।

उद्धारका क्रममा एक गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ।

उद्धार गरिएका स्थानीय र चौपायालाई सुस्ता गाउँपालिका–५ स्थित होल्डिङ सेन्टरमा राखिएको छ।

यसअघि नारायणीको बाढी थारु टोलमा पस्दा १६५ घर प्रभावित भएका थिए। त्यहाँका ७८ परिवारलाई होल्डिङ सेन्टरमा सारिएको थियो।

त्यसैगरी सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।

नारायणीमा पानीको सतह अझै बढिरहेको भन्दै सुस्ताका अन्य बस्तीसमेत जोखिममा रहेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार सुस्तामा निर्माणाधीन तटबन्धको १३२ मिटर भाग अझै पूरा हुन बाँकी छ। यही कारण नदी कटानको जोखिम थप रहेको उनीहरूको भनाइ छ।

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको थप उद्धार तथा खोजी कार्य जारी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *