`

नागढुङ्गास्थित सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालक कारबाहीमा

Nepal One HD १६ असोज २०८३ ५:५५
प्रमुख खबर

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गास्थित सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरेको छ ।सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभाबी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले नागढुङ्गास्थित सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो ।

“सुरुङमार्गमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा सवारी चलाउन पाइन्छ । सोहीअनुसारको सूचना बोर्ड राखिएको छ । उक्त नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको छ”, प्रवक्ता सुवेदीले भने ।

सुरुङमार्गभित्र स्टन्ट गर्ने, अनावश्यक रूपमा हर्न बजाउने, गलत तरिकाले ओभरटेक गर्ने र तीव्र गतिमा सवारी चलाउनेजस्ता गतिविधि हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्ता गतिविधिले सुरुङमार्गमा दुर्घटनाको जोखिम बढाउनुका साथै आकस्मिक अवस्थामा उद्धारसमेत प्रभावित हुनसक्ने प्रवक्ता सुवेदीको भनाइ छ ।

ट्राफिक प्रहरीले सुरुङमार्ग प्रयोग गर्दा अन्य सडकको तुलनामा थप संवेदनशील भएर सवारी चलाउन चालकलाई आग्रह गरेको छ । सुरुङभित्र लेन अनुशासन कायम गर्ने, निर्धारित गतिको पालना गर्ने, अनावश्यक हर्न नबजाउने तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यसैबिच, बिहीबार सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने १३ चालक कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गत ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले उनीहरूलाई कारबाही गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *