सांसदले उठाएका मुद्दा थन्किन नदिन प्रधानमन्त्री कार्यालयमा ‘संसद् डेस्क’ माग
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. कृष्णहरि बुढाथोकीले संसद्मा उठ्ने जनसरोकारका विषय कार्यान्वयनको चरणसम्म पुर्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘संसद् डेस्क’ स्थापना गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सांसदहरूले सदनमा उठाएका समस्या र सुझाव भाषण तथा संसद्को रेकर्डमै सीमित हुन नहुने बताए।
उनले संसद्मा उठेका विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने, त्यसको कार्यप्रगति नियमित रूपमा अनुगमन गर्ने र भएको कामबारे सम्बन्धित सांसदलाई जानकारी गराउने जिम्मेवारी संसद् डेस्कलाई दिनुपर्ने प्रस्ताव गरे।
बुढाथोकीका अनुसार जनप्रतिनिधिका रूपमा सांसदहरू नागरिकका समस्या प्रत्यक्ष सुन्ने र ती विषय सरकारसमक्ष पुर्याउने माध्यम हुन्। त्यसैले सदनमा उठेका जनसरोकारका विषयलाई सरकारको कामको आधार बनाउनुपर्ने उनको भनाइ छ।
उनले चालु अधिवेशनमा शून्य, विशेष, आकस्मिक समय तथा विधेयकमाथिको सैद्धान्तिक छलफललगायत गरी ४२ पटक संसद्मा धारणा राखेको जानकारी दिए।
आफूले रामेछापका स्थानीय समस्या र सम्भावनादेखि देशका आर्थिक, सामाजिक तथा विकाससम्बन्धी विषयसम्म संसद्मा उठाउँदै आएको उनले बताए। सुशासन, समृद्धि, सदाचार र राजनीतिक संस्कार सुधारका विषयमा समेत निरन्तर आवाज उठाएको उनको भनाइ थियो।
सांसदले उठाएका विषयको सरकारले के गर्यो भन्ने जवाफदेहिता स्पष्ट बनाउन संसद् डेस्क उपयोगी हुने उनको तर्क छ।
संसद्मा उठेको विषय सम्बन्धित मन्त्रालयसम्म पुर्याउने मात्र नभई त्यसको प्रगति हेर्ने र सांसदलाई जवाफ दिने व्यवस्था भए जनताका गुनासा सम्बोधन गर्ने संसदीय प्रक्रिया थप प्रभावकारी हुने उनले बताए।
