कांग्रेसको महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छ : उपसभापति भुसाल
काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयन वा पद व्यवस्थापनको प्रक्रियामा सीमित गर्न नहुने बताएकी छन्। उनले महाधिवेशनलाई पार्टीको आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको अवसर बनाउनुपर्नेमा जोड दिएकी हुन्।
आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले जनताबीच कमजोर हुँदै गएको विश्वास पुनःस्थापित गर्न कांग्रेसले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताइन्। नयाँ पुस्ताका अपेक्षा र सवाललाई सम्बोधन गर्ने गरी पार्टीको आगामी दिशा तय गर्नुपर्ने उनको भनाइ थियो।
लोकतन्त्रका लागि लामो समयदेखि संघर्ष गर्दै आएको कांग्रेसले अब आफ्नो वर्तमान अवस्था र भविष्यको बाटो स्पष्ट पार्नुपर्ने जिम्मेवारी महाधिवेशनले लिनुपर्ने उनले बताइन्।
भुसालले महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउने अवसरका रूपमा उपयोग गर्न प्रतिनिधिहरूलाई आग्रह गरिन्। केन्द्रबाट हुने निर्णय प्रक्रियालाई थप पारदर्शी बनाउँदै त्यसको प्रभाव र जानकारी तल्लो तहसम्म पुर्याउनुपर्ने उनको भनाइ छ।
देशको जनसंख्यामा ठूलो हिस्सा रहेको नयाँ पुस्ताले सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरिरहेको उल्लेख गर्दै भुसालले कांग्रेसले उनीहरूको आकांक्षा र भरोसालाई सम्बोधन गर्नुपर्ने बताइन्।
उनले कांग्रेसका नेता तथा कार्यकर्तामात्र नभई लोकतान्त्रिक विचारमा विश्वास गर्ने सबैलाई महाधिवेशनलाई आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिन आग्रह गरिन्। पार्टीको कमजोरी पहिचान गरेर सुधार, पुनर्निर्माण र पुनर्जागरणको बाटोमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
महाधिवेशनपछि जनताबीच पुग्दा कांग्रेसले विगतभन्दा बढी ऊर्जा र प्रतिबद्धताका साथ काम गर्न सक्ने अवस्था बनाउनुपर्ने बताउँदै भुसालले पार्टीले फेरि जनताको विश्वास जित्ने आधार तयार गर्नुपर्ने उल्लेख गरिन्।
महिलाको सहभागिताबारे बोल्दै उनले मुलुकको जनसंख्यामा महिलाको हिस्सा आधाभन्दा बढी रहेको स्मरण गराइन्। आन्दोलन, निर्वाचन र सामाजिक क्षेत्रमा महिलाले आफ्नो क्षमता प्रमाणित गरिसकेको भन्दै अब पार्टी तथा राज्यको नीति निर्माण तहमा महिलाको निर्णायक सहभागिता सुनिश्चित गर्नुपर्ने माग उनले राखिन्।
भुसालले कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक र सांगठनिक यात्राको दिशा तय गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएकी छन्।
