सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार जनता, संसद् र राजनीतिक दलसँग संवाद नगरी स्वेच्छाचारी बाटोतर्फ अघि बढ्न खोजेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूबीच संवाद आवश्यक भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए।
उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा दलहरूलाई एक ठाउँमा ल्याउन पहल गरिरहेको उल्लेख गर्दै सरकार भने राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न तयार नदेखिएको बताए।
‘सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन । सरकार संसद्सँग संवाद गर्दैन । नागरिकसँग संवाद गर्दैन । सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन,’ पोखरेलले भने।
सरकारको यस्तो कार्यशैलीले आगामी प्राकृतिक विपद् तथा अन्य संकटको सामना कसरी गर्ने भन्नेमा समेत गम्भीर प्रश्न खडा गरेको उनको भनाइ थियो।
पोखरेलले लोकतन्त्रको भविष्यप्रति समेत चिन्ता व्यक्त गरे। जनताबाट निर्वाचित प्रधानमन्त्रीले आफ्नै संसदीय दल, संसद् र जनताको आवाज नसुन्ने अवस्था आउनु गम्भीर विषय भएको उनले बताए।
‘यस्तो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिँड्दैछौँ कि स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दैछौँ भन्ने प्रश्न उठिरहेको छ,’ उनले भने, ‘लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेस लोकतन्त्रको रक्षाका प्रश्नमा कसरी अघि बढ्छ भन्ने महत्वपूर्ण प्रश्न बनेको छ।’
