तस्वीरमा हेर्नुहोस् कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताको चहलपहल
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ताको चहलपहल बढेको छ।
उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिले तोकेको समय सकिन लागेपछि महाधिवेशनस्थलमा आकांक्षी नेता तथा प्रतिनिधिहरूको दौडधुप बढेको हो। विभिन्न पदमा उम्मेदवारी दिने तयारीमा रहेका नेताहरू समर्थक र प्रस्तावकसहित निर्वाचनस्थल पुगिरहेका छन्।
यसैबीच केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी मनोनयनको समय दुई घण्टा थप गरेको छ। यसअघि अपराह्न ४ बजेसम्म तोकिएको समय बढाएर साँझ ६ बजेसम्म पुर्याइएको हो।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जारी गरेको सूचनाअनुसार मनोनयन प्रक्रिया व्यवस्थित बनाउन समय थप गरिएको हो। विस्तारित समयभित्र उम्मेदवारी दर्ता गराउन समितिले सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेको छ।
समय थपिएसँगै उम्मेदवारी दर्ताका लागि बाँकी रहेका आकांक्षी नेताहरूलाई थप तयारी गर्ने अवसर मिलेको छ। महाधिवेशनस्थलमा भने उम्मेदवारका समर्थक, प्रस्तावक र प्रतिनिधिहरूको उपस्थितिले चुनावी माहोल थप तातेको छ।






















