हिरासतमा वडाध्यक्षमाथि कुटपिट!
काठमाडौं। आठविसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक प्रहरी हिरासतमा घाइते भएको विषय विवादमा आएको छ।
नेपाली कम्युनिस्ट पार्टीले विकलाई हिरासतमा प्रहरीबाट कुटपिट भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।
पार्टीका जिल्ला संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारले विज्ञप्ति जारी गर्दै वडाध्यक्षमाथि भएको भनिएको कुटपिटको अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न माग गरेका छन्।
विकलाई भने प्रहरीले एक फरार व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीको काममा अवरोध गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार अभद्र व्यवहारसम्बन्धी मुद्दामा खोजी भइरहेका ३३ वर्षीय गोपाल विकलाई पक्राउ गर्न प्रहरी आठविसकोट–१ स्थित कालिका मन्दिर क्षेत्र पुगेको थियो। त्यही क्रममा केशरमानले प्रहरीसँग विवाद गर्दै गोपाललाई पक्राउ हुनबाट जोगाउन खोजेको प्रहरीको दाबी छ।
प्रहरीले घटनाका क्रममा धकेलाधकेल भएको र ड्युटीमा रहेका प्रहरीको पोसाकसमेत च्यातिएको जनाएको छ। त्यसपछि विकलाई राष्ट्रसेवकको काममा बाधा पुर्याएको आरोपमा पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
तर, नेकपाका नेताहरूको दाबी भने फरक छ। उनीहरूका अनुसार प्रहरी नियन्त्रणमा लिएपछि विकलाई हिरासत कक्षअघिको प्रतीक्षालयमा कुटपिट गरिएको हो।
घटनापछि स्वास्थ्यमा समस्या देखिएपछि विकलाई बुधबार बिहानै सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको थियो। उनको त्यहीँ उपचार भइरहेको बताइएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले भने प्रहरी हिरासतमा विकमाथि कुटपिट गरिएको आरोप अस्वीकार गरेको छ। प्रदेश प्रहरीका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरले विकलाई हिरासतमा सम्मानजनक व्यवहार गरिएको दाबी गरेका छन्।
घटनास्थलमै प्रहरीसँग हातपात भएको भन्ने प्रहरीको दाबीलाई पनि नेकपाका जिल्ला संयोजक रोकाले चुनौती दिएका छन्। उनले प्रहरीसँग हातपात भएको प्रमाणका रूपमा भिडियो सार्वजनिक गर्न प्रहरीलाई आग्रह गरेका छन्।
