कांग्रेसको बन्दसत्र अपराह्न ४ बजेसम्म
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बन्दसत्र बुधवार अपराह्न ४ बजे सुरु हुने भएको छ।
नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले अपराह्न ४ बजे बन्दसत्र सुरु हुने जानकारी दिए ।
बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका गरी चारवटा प्रतिवेदन पेस तथा पारित गर्ने कार्यसूची रहेको छ। प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ। महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २४ पदाधिकारी रहने व्यवस्था छ।
तीमध्ये चार सहमहामन्त्री र एक कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने भएकाले निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन्।
निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार १९ पदाधिकारीका लागि ७९ जनाले उम्मेदवारी दिएका छन्। सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। सभापतिमा गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्।
विधानअनुसार वरिष्ठ उपसभापति एक तथा समावेशी महिला क्लस्टरबाट एक र खुलातर्फ दुई गरी चार उपसभापति निर्वाचित हुनेछन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ भने महिला उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ। शर्मा र भुसाल दुवै हाल उपसभापतिको जिम्मेवारीमा छन्।
यसैबीच उम्मेदवारहरूको दाबी-विरोधको प्रक्रिया जारी रहेको निर्वाचन समितिले जनाएको छ।
दाबी-विरोध तथा उम्मेदवारीसम्बन्धी प्रक्रिया टुंगिएपछि निर्वाचनको अन्तिम तयारी अघि बढाइनेछ।
