`

कांग्रेसमा भोट माग्ने पनि गजब-गजबका तरिका, रोबोटदेखि चिम्पान्जीसम्म!

Nepal One HD २१ असोज २०८३ १५:१९
फोटोफिचर

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चुनावी गर्मी बढ्दै जाँदा राष्ट्रिय सभागृह परिसर पनि रमाइलो दृश्यले भरिन थालेको छ। नेता–कार्यकर्ता भेटघाट र भाषण त छँदैछ, मत तान्न उम्मेदवारहरूले रोबोटदेखि चिम्पान्जीसम्म मैदानमा उतारेका छन्।

पदाधिकारी र सदस्य पदका उम्मेदवारहरू प्रतिनिधिको हात समात्नेदेखि सेल्फी खिच्नेसम्म व्यस्त छन्। कसैले पोस्टर र प्रचार सामग्रीमार्फत आफूलाई चिनाइरहेका छन् भने कसैले कस्ट्युम क्यारेक्टर प्रयोग गरेर प्रतिनिधिको ध्यान आफूतिर तान्ने प्रयास गरिरहेका छन्।

सभागृहमा देखिएको चिम्पान्जीको कस्ट्युम र रोबोट अहिले धेरैका लागि चासोको विषय बनेका छन्। उम्मेदवारको प्रचारभन्दा पनि ती पात्रसँग फोटो खिच्ने र रमाइलो गर्ने प्रतिनिधिको भीडसमेत देखिन्छ।

मत माग्ने क्रममा उम्मेदवारहरू प्रतिनिधिसँग परिचय गर्दै आफ्नो पक्षमा मत दिन आग्रह गरिरहेका छन्। प्रतिनिधिहरू पनि कसैसँग गफिँदै, कसैसँग फोटो खिच्दै र कसैका कुरा सुन्दै उम्मेदवारको मूल्यांकनमा व्यस्त देखिन्छन्।

महाधिवेशनमा जितका लागि मत चाहिन्छ, मतका लागि प्रतिनिधिको मन जित्नुपर्छ। त्यसैले यसपटक कांग्रेसको चुनावी मैदानमा भाषण र नारासँगै रोबोट, चिम्पान्जी र फोटोसेसन पनि मत माग्ने नयाँ हतियार बनेका छन्।


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *