`

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

Nepal One HD २२ असोज २०८३ १०:३७
अर्थ समाचार

जोमसोम । बाटो खुल्ला भएको भए काठमाडौं पुग्थ्यो, तर सडकले साथ नदिँदा करिब २७ लाख रुपैयाँको ड्रागन फ्रुट जोमसोममै बाँडियो।

चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको ९२४ क्यारेट ड्रागन फ्रुट बेनी–जोमसोम सडक बाढीपहिरोले बन्द भएपछि १५ दिनभन्दा बढी समयदेखि जोमसोममा रोकिएको थियो। लामो समय कन्टेनरमै थन्किँदा फल बिग्रिन थालेपछि व्यवसायीले स्थानीयलाई निःशुल्क वितरण गरेका हुन्।

असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले सडकमा क्षति पुर्‍याएपछि कन्टेनर अघि बढ्न सकेन। सडक अझै सहज नहुँदा ठूला सवारीसाधनसमेत आवतजावत गर्न कठिन भएपछि व्यवसायीले जोमसोममै बेच्ने प्रयास गरेका थिए। तर पर्याप्त बिक्री हुन सकेन।

व्यवसायी प्रतिनिधि सुवास सुनुवारका अनुसार दिनको चर्को गर्मी र रातिको अत्यधिक चिसोले फल बिग्रिन थालेपछि खेर फाल्नुभन्दा स्थानीयलाई बाँड्ने निर्णय गरिएको हो।

निःशुल्क ड्रागन फ्रुट बाँडिने खबर पाएपछि स्थानीय कन्टेनर भएको ठाउँमा जम्मा भए। व्यवसायीले आवश्यकताअनुसार फल वितरण गरेपछि स्थानीयले खुसी हुँदै लगे।

सडक अवरुद्ध हुँदा लाखौँको क्षति भए पनि बिग्रिएर खेर जानुभन्दा स्थानीयको मुखमा पुर्‍याउनु उचित लागेको सुनुवारले बताए। ड्रागन फ्रुट बाँडेर उनी काठमाडौं फर्किने तयारीमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *