त्रिभुवन राजपथमा सवारी आवागमनको नयाँ समय तालिका लागू
हेटौँडा । काठमाडौँ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिङ–काठमाडौँ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने सवारी चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिए ।
उनका अनुसार हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारीसाधनलाई यही असोज २४ गते बिहान २ बजेदेखि ५ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइनेछ । असोज २५ गते बिहान ४ बजेदेखि १० बजेसम्म सवारी सञ्चालन गर्न पाइनेछ । त्यस्तै, काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीसाधनलाई आज साँझ ६ः३० बजेदेखि राति ११ बजेसम्म सञ्चालन गर्न दिइनेछ। असोज २४ गते बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म र राति १० बजेदेखि असोज २५ गते बिहान १ बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको छ ।
असोज २५ गते दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म पनि काठमाडौँबाट हेटौँडातर्फ सवारीसाधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार त्रिभुवन राजपथमा ११ मिटर लम्बाइसम्मका यात्रुवाहक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइएको छ। त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मुग्लिङ–काठमाडौँ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ्ने भएकाले आवागमन व्यवस्थापनका लागि तत्काल निर्णय गरिएको बताउनुभयो। उहाँका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गमा साना सवारीसाधनका लागि आलोपालो समय तालिका लागू गरिएको छैन । जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई निर्धारित समय तालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ ।
