पावर बैंकमा आगलागी भएपछि इन्डिगोको विमान हैदराबादमा आकस्मिक अवतरण
काठमाडौं । यात्रुको पावर बैंकमा आगलागी भएपछि भारतको इन्डिगो एयरलाइन्सको एक विमानलाई हैदराबादमा आकस्मिक अवतरण गराइएको छ। दिल्लीबाट चेन्नईतर्फ उडिरहेको उक्त विमानमा आगलागी भएपछि चालक दलका सदस्यले तत्कालै आगो निभाएका थिए। त्यसपछि विमानलाई सुरक्षित रूपमा हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो।
प्राप्त विवरणअनुसार आइतबार इन्डिगो एयरलाइन्सको उडान नम्बर 6E 6115 मा उक्त घटना भएको थियो। दिल्लीबाट चेन्नईका लागि उडेको विमानमा यात्रुले बोकेको पावर बैंकमा आगलागी भएपछि विमानभित्र केही समय असहज परिस्थिति सिर्जना भएको थियो। घटनालगत्तै चालक दलका सदस्यले आवश्यक सावधानी अपनाउँदै आगो नियन्त्रणमा लिएका थिए।
आगलागी नियन्त्रणमा लिएपछि यात्रु तथा चालक दलका सदस्यको सुरक्षालाई प्राथमिकतामा राख्दै विमानलाई हैदराबादतर्फ मोडिएको थियो। विमान राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेपछि यात्रुहरूको अवस्थाबारे आवश्यक जानकारी लिइएको थियो।
