`

पोखरामा धुमधाम फूलपाती बढाइँ, विन्ध्यवासिनीमा नवदुर्गालाई सलामी

Nepal One HD १ कार्तिक २०८३ १६:१२
अध्यात्म

काठमाडौं । पोखरास्थित प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा बडादसैँको फूलपातीका अवसरमा शनिबार भव्य फूलपाती बढाइँ गरिएको छ। सैनिक ब्याण्ड, बाजागाजा र विभिन्न कोटघरबाट ल्याइएको फूलपातीसहितको टोलीले बजार परिक्रमा गर्दै मन्दिरमा फूलपाती भित्र्याएको हो।

पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको बढाइँमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी, जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा सर्वसाधारण सहभागी भएका थिए। फूलपातीको स्वागतका लागि स्थानीयले ठाउँठाउँमा जलघडा राखेका थिए भने मन्दिरमा पूजाआजा गर्न भक्तजनको उल्लेख्य भीड लागेको थियो।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसहित नेपाली सेनाको फूलबारी ब्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की र सशस्त्र प्रहरी बल नेपाल कालिका गणका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर सिंहले विन्ध्यवासिनी मन्दिरमा पूजाआजा गरेका थिए। सो अवसरमा सुरक्षा निकायका तर्फबाट नवदुर्गा भगवतीलाई सलामीसमेत अर्पण गरिएको थियो।

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइएको फूलपाती नेपाली सेनाले यस क्षेत्रका विभिन्न ब्यारेकमा स्थापना गरिएका दसैँघरमा पुनः भित्र्याउने परम्परा रहेको प्रमुख सेनानी पुडासैनीले बताए। नेपाल प्रहरीले पनि मन्दिरबाट फूलपाती आफ्नो दसैँघरमा भित्र्याउने परम्परालाई करिब एक सय वर्षदेखि निरन्तरता दिँदै आएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

यसैबीच, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले घटस्थापनादेखि महानवमीसम्म नवदुर्गा महोत्सव सञ्चालन गरिरहेको छ। महोत्सवअन्तर्गत श्रीमद्भागवत ज्ञानमहायज्ञसमेत जारी रहेको र कार्यक्रममा भक्तजनको उल्लेख्य सहभागिता रहेको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *