फूलपातीमा बन्दीपुरको खड्गदेवी मन्दिरमा भक्तजनको ओइरो, हजारौँको खड्गयात्रा
काठमाडौं ।दसैँको फूलपातीका अवसरमा तनहुँको बन्दीपुरस्थित प्रसिद्ध खड्गदेवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। बन्दीपुर गाउँपालिका-४ मा रहेको करिब ६०० वर्ष पुरानो मन्दिरमा बिहानैदेखि पूजाआजा गर्ने भक्तजनको भीड लागेको हो।
बन्दीपुरका ग्रामीण क्षेत्रसहित छिमेकी पालिकाबाट समेत भक्तजन दर्शनका लागि आएका छन्। फूलपातीका दिन मन्दिरमा विशेष मेला लाग्ने र देवीको खड्गलाई बजार परिक्रमा गराउँदै शोभायात्रा निकाल्ने परम्परा छ। शोभायात्रामा विभिन्न जातजातिका हजारौँ मानिस सहभागी हुने गर्छन्।
धार्मिक किंवदन्तीअनुसार भगवान् शिवले राजा मणिमुकुन्द सेनलाई दिएको तरबार नागको रूप धारण गर्दै बन्दीपुर डाँडामा पुगेपछि खड्गदेवीका रूपमा स्थापना भएको विश्वास गरिन्छ।
मन्दिरमा कामी, मगर र बाहुन समुदायका तीन पुजारी छन्। पहिले नवरात्रका नौ दिन मात्र खुल्ने मन्दिर विगत तीन वर्षदेखि दैनिक खुला राखिँदै आएको छ। मन्दिर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहन्छ।
मन्दिरको ऐतिहासिक विवरणअनुसार फूलपातीको खड्गयात्रामा प्रयोग हुने गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएका थिए। सुरुमा ढुङ्गाले बनेको मन्दिरलाई राजा चन्द्रशमशेरको पालामा दरबार शैलीमा रूपान्तरण गरिएको थियो। अहिले मन्दिरमा तामाको छाना छ।
धार्मिक आस्था, ऐतिहासिक महत्व र विभिन्न जातजातिको साझा सहभागिताले खड्गदेवी मन्दिरलाई बन्दीपुरको प्रमुख धार्मिक तथा सांस्कृतिक गन्तव्य बनाएको छ।
