चितवनमा यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते
प्रहरीका अनुसार बिहान करिब १०ः४५ बजे बा ४ ख ७३९० नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। दुर्घटनाका बेला बसमा करिब २३ जना यात्रु सवार थिए। उनीहरूमध्ये १० जना घाइते भएका छन्।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजन पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाएको जनाएको छ।
घाइतेमध्ये पाँच जनाको अवस्था मध्यम
दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको अवस्था मध्यम रहेको छ भने अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मध्यम अवस्थामा रहेका घाइतेमा चितवनको राप्ती नगरपालिका–१० का २० वर्षीय सविन तामाङ, खैरहनी नगरपालिका–६ की ६० वर्षीया फूलमती यादव, सर्लाहीको हरिपूर्वा नगरपालिका–४ की ५० वर्षीया कैशलिया देवी राम, उदयपुरको कटहरी नगरपालिका–१ का २३ वर्षीय अमृतबहादुर लुङ्गेली मगर र सुनसरीको हरिपुर चोककी २१ वर्षीया रमिना चौधरी थारू रहेका छन्। रमिना १२ हप्ताकी गर्भवती रहेको विवरणमा उल्लेख छ।
त्यस्तै, भारतको रक्सौलका ४३ वर्षीय मुकेश ठाकुर, सर्लाहीको हरिपूर्वा नगरपालिका–४ का २२ वर्षीय सत्यम राम, सुनसरीको हरिपुर चोकका २५ वर्षीय अजय चौधरी थारू, चितवनको राप्ती नगरपालिका–५ की ४२ वर्षीया रीता देवी माझी र उनका सात वर्षीय छोरा आदित्य माझी सामान्य अवस्थामा घाइते भएका छन्।
बस चालक प्रहरी नियन्त्रणमा
दुर्घटनामा परेको बसका चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२, पदमपोखरी निवासी ४६ वर्षीय नवराज कार्की प्रहरी नियन्त्रणमा रहेका छन्।
बस कसरी अनियन्त्रित भएर दुर्घटनामा पर्यो भन्नेबारे थप विवरण आउन बाँकी छ।
