डिआरएस के हो र किन प्रयोग गरिन्छ?
काठमाडौं। नेपाल प्रिमियर लिग(एनपिएल)को तेस्रो संस्करणमा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधिको प्रयोगले क्रिकेट समर्थकलाई थप उत्साहित बनाएको छ।
अर्कोतिर, यसको प्रयोगले नेपाली फ्रेन्चाइज क्रिकेटलाई थप व्यावसायिक र विश्वसनीय बनाउन ठुलो सहयोग गर्नेछ। अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने तय भएको प्रतियोगितामा आधुनिक प्रविधिको प्रयोगले खेलको निष्पक्षता, अम्पायरिङको गुणस्तर र टेलिभिजन प्रसारणको आकर्षण बढाउन सहयोग पुर्याउन सक्छ।
सन् २०२४ मा सुरु भएको एनपिएलको पहिलो संस्करण जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करण सन् २०२५ मा लुम्बिनी लायन्सले जितेको थियो।
डिआरएस क्रिकेटमा अम्पायरको निर्णय पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो। खेलका क्रममा बल ब्याटमा लागेको हो वा होइन, ब्याट्सम्यान लेग बिफोर विकेट(एलबीडब्ल्यु)आउट हुन्छ वा हुँदैन, अथवा रनआउट र स्टम्पिङको अवस्थामा खेलाडी समयमै क्रिजभित्र पुगेको थियो कि थिएन भन्ने विषयमा निर्णय लिन यसले सहयोग गर्छ। प्रविधिको उपलब्धता र प्रतियोगिताको नियमअनुसार डिआरएस प्रविधिको प्रयोगबाट विभिन्न प्रकारका समीक्षा गर्न सकिन्छ।
क्रिकेटमा एउटा गलत निर्णयले खेलको दिशा नै बदल्न सक्छ। विशेषगरी प्रतिस्पर्धात्मक टि-२० क्रिकेटमा एउटा विकेटले पनि खेलको नतिजामा ठूलो प्रभाव पार्न सक्छ। यस्तो अवस्थामा डिआरएसले अम्पायरलाई थप प्रमाणका आधारमा निर्णय पुनरावलोकन गर्ने अवसर दिन्छ। यसले स्पष्ट गल्ती सच्याउन र खेललाई तुलनात्मक रूपमा निष्पक्ष बनाउन सहयोग पुर्याउँछ।
यसको अर्को महत्त्वपूर्ण पक्ष टेलिभिजन प्रसारण हो। बल ट्र्याकिङ, स्लो मोसन रिप्ले र बलले ब्याट छोएको संकेत पहिचान गर्ने डिआरएस प्रविधिजस्ता सुविधाले दर्शकलाई खेलका जटिल क्षण बुझ्न सजिलो बनाउँछन्। यसले खेल हेर्ने अनुभवलाई थप रोचक बनाउनुका साथै नेपाली क्रिकेट प्रसारणको गुणस्तर सुधार्ने सम्भावना पनि राख्छ।
डिआरएसको प्रयोगले नेपाली अम्पायरको क्षमता विकासमा समेत योगदान दिन सक्छ। प्रविधिबाट प्राप्त प्रमाण र निर्णय प्रक्रियाको विश्लेषणले अम्पायरलाई आफ्नो निर्णयको समीक्षा गर्न मद्दत गर्छ। यसबाट भविष्यमा निर्णय प्रक्रियालाई अझ व्यवस्थित बनाउन सकिन्छ। त्यस्तै, विदेशी खेलाडी र प्रशिक्षक सहभागी हुने प्रतियोगितामा आधुनिक प्रविधिको प्रयोगले एनपिएलको व्यावसायिक छवि बलियो बनाउन सहयोग गर्न सक्छ।
एनपिएलको तेस्रो संस्करणमा डिआरएसको प्रयोग नेपाली क्रिकेटका लागि केवल नयाँ प्रविधि थपिनु मात्र होइन, निर्णय प्रक्रियालाई प्रमाणमा आधारित बनाउने अवसर पनि हो। यसको सफल कार्यान्वयनले खेलाडी, टोली र दर्शकको विश्वास बढाउनेछ।
