`

एमालेका देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित

Nepal One HD ५ माघ २०७९ १५:१७
प्रमुख खबर

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार प्रतिनिधिसभामा भएको निर्वाचनमा कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै उनि निर्वाचित भएका हुन् । बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बहुमत प्राप्त गरेकाले घिमिरेलाई निर्वाचित भएको घोषणा गरे ।

प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो ।प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।

सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् । तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।

घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र रास्वपाका रवि लामिछाने थिए ।


प्रतिक्रिया