यती सानो मुलुकमा ८०० सांसद र २०० मन्त्री आवश्यक छैन, सङ्घीयता सेतो हात्ती हो : दुर्गा प्रसाईँ


काठमाडौँ / सामाजिक अभियान्ता दुर्गा प्रसाईँले तीन करोड जनसंख्या भएको मुलुकमा ८०० सांसद र २०० मन्त्री आवश्यक नरहेको बताउनुभएको छ ।
आज काठमाडौँमा कष्टिचुनल फोरम अफ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले गणतन्त्रको नाममा देशलाई तावाबाट अझ बढी भुंग्रोमा हालिएको बताउनु भयो ।
मुलुकमा व्यवसायीले काम गर्ने वातावरण नभएको, युवाहरूले रोजगारी नपाएको भन्दै प्रसाईँले देश डुब्नबाट बचाउनका लागि अब सबै नेपाली जागरूक हुनु पर्ने बेला आएको बताउनुभयो ।
‘हामीले ल्याएको गणतन्त्रमा एक करोड नेपाली विदेशमा बस्न बाध्य भए, दैनिक पाँच हजार नेपाली विदेशिन बाध्य छन्, गणतन्त्रका नाउँमा लादिएको सङ्घीयता नेपाली जनतालाई सेतो हात्ती साबित भयो, यति सानो मुलुकमा ८०० सांसद र २०० मन्त्री किन चाहियो’प्रसाईँको प्रश्न थियो ।
प्रसाईँले बैङ्क तथा वित्तीय संस्थाको चर्को ब्याज तत्काल बन्द गर्नु पर्ने बताउनुभयो । उहाँले हिजो तमसुक गरेर ब्याज असुल्ने सामन्त भन्दा पनि अहिलेको बैङ्क तथा वित्तीय संस्थाको मनपरी चलिरहेको बताउनुभयो ।
उहाँले सरकार समेत विकास गर्नु पर्ने रकम बैङ्कमा राखेर ब्याजको कमिसन खान पल्किरहेको बताउनुभयो । ‘यहाँका बैङ्क तथा वित्तीय संस्थाले मनपरी ब्याज बढाइरहेका छन्, हजारौँ व्यापारीहरू अब किस्ता तिर्न नसक्ने अवस्थामा छन्, कोरोना,युक्रेन युद्धले सारा देश डुबिरहेको छ तर यहाँका बैङ्कहरू नाफा कमाइरहेका छन् ।’ यो कसरी सम्भव छ उहाँले प्रश्न गर्नुभयो ।
उहाँले बैङ्कहरूले व्यापारीहरूको सम्पत्ति लिलाम गर्नु अघि तीन पुस्तै छापेर मानिसहरूको बेइजत समेत गरिरहेको बताउनुभयो । सम्पत्ति त सब लिए लिए, भएको इज्जतसमेत पत्रिकामा छापेर मानिसहरूलाई जिउन लायक नछाड्ने भए, के यही कारणले मानिसहरू मरे भने यीनलाई आत्महत्या दुरुसाहनको मुद्दा लाग्छ कि लाग्दैन रु’प्रसाईँको प्रश्न थियो ।
उहाँले मुलुकको धर्म नामेट पारिएको, जनतालाई सङ्घीयताको बोझ बोकाएर एउटा राजालाई दोष दिएर हजारौँ छोटेराजाहरु जन्माएर देश लुटिएको बताउनुभयो । ‘यो देशको अर्थतन्त्र सीमित ५५ जना व्यापारी र १० जना नेताको हातमा छ, त्यसका विरुद्ध नलडेसम्म यो मुलुकमा केही हुनेवाला छैन’प्रसाईँले बताउनुभयो ।
प्रसाईँले बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याजदर ६ प्रतिशतभन्दा न्यून हुनुपर्ने, सबै बैङ्क तथा वित्तीय संस्थालाई सरकारी करण गर्नुपर्ने र मुलुकको अर्थतन्त्रले धान्न नसक्ने सङ्घीयता खारेज हुनु पर्ने र देशमै उद्योग धन्दा खोली रोजगारीको सृजना गरिनु पर्ने बताउनुभयो ।
उहाँले देशमा राष्ट्रियता, धर्म र संस्कृति हराएको भन्दै सबै धर्म, जातजाति को सम्मान गर्दै बौद्धिक सनातनसहितको हिन्दुराष्ट्र अबको निकास भएको बताउनुभयो ।
उहाँले आर्थिकरूपमा देश खोक्रो हुँदा समेत यहाँका दल र पूर्वराजाले बोल्न नसकेको बताउनुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्रलाई देश यत्ति जर्जर हुँदा समेत केही गर्न नसक्ने हो भने आफ्नो सम्पत्ति बेचेर देश छोड्न आग्रह गर्नुभयो । ‘देश रुँदा पनि के बोल्न नसक्ने हो भने ज्ञानेन्द्र राजा नामर्दी पन देखाउन भन्दा सम्पत्ति बेचेर अमेरिका गए हुन्छ’ प्रसाईँले बताउनुभयो ।
उहाँले चर्को ब्याजदरका कारण व्यापारीहरू सडकमा आउने अवस्था बन्दै गएको र यता सडकमा साग र फर्सीका मुन्टा बेचेर गुजारा गर्नेहरूलाई समेत लखेटिएको भन्दै अब कमजोर आर्थिक अवस्था हुनेले मर्नु बाहेक विकल्प नरहेको बताउनुभयो ।
उहाँले यी सबै बेतिथिका विरुद्ध फागुन १ गतेदेखि देशभरबाट अभियान छेडिने बताउनुभयो । ‘लाछीहरुबाट यो देशले पार पाएन, मलाई साथ दिनुहोस् अब यो देशको नेतृत्व म गर्छु’ प्रसाईँले भन्नुभयो ।
प्रसाईँले फागुन १ गते माओवादीहरूले पटका र बन्दुक पड्काएर जनयुद्ध गरे पनि आफूहरू भने मान्छे मार्ने युद्ध नभई बाटो या तामाको दियोमा बत्ती बालेर अभियानमा लाग्ने बताउनुभयो । उहाँले हरेक नेपालीले सके तामाको नसके बाटोको दियो बालेर झापाको मेची पुलबाट आफ्नो अभियानलाई साथ दिने बताउनुभयो ।
उहाँले आफ्नो अभियान देशभर बनाइने भन्दै अब सरकारलाई कर र बैङ्कलाई ब्याज तिर्न छोडेर सटर बन्द गरेर बस्नु पर्ने बताउनुभयो ।
ढिलो न चाँडो यो व्यवस्थाले हामीलाई एक दिन कालोसूचीमा राख्छ राख्छ, त्यसैले आफ्नो अभियानमा जोडिन प्रसाईँले आग्रह गर्नुभयो ।