`

‘अघिल्लो सरकारले वैदेशिक सम्बन्धलाई दलाली गरेर कमजोर बनायो’ : अध्यक्ष ओली

Nepal One HD ६ माघ २०७९ १३:४४
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय स्तरमा सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुनुपर्ने उल्लेख गरेका छन् । शुक्रबार पार्टीको परराष्ट्र विभागले आयोजना गरेको ‘नेपालको विदेश नीति तथा अन्तराष्ट्रिय सम्बन्ध’ विषयक दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कुनै पनि देशले आफ्नो स्थिति र विकास र सुरक्षालाई ध्यानमा राखेर विदेश नीति अपनाउने बताएका हुन् ।

छिमेकमा बसेर छिमेकको अहित गर्ने काम गर्नु नहुने ओलीको भनाइ छ । नेपाल छिमेकीको विल्कुलै कुभलो नगरिकन उनीहरूको चासो र चिन्तालाई सम्वोधन गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारमा भएपनि नभएपनि दुई छिमेकीबीचको सम्बन्ध सन्तुलित र भरपर्दो हुनुपर्ने भन्दै छिमेकीका निम्ती असल छिमेकी हुन चाहेको बताए ।

‘हामी हाम्रा छिमेकीहरुका लागि असल छिमेकी हुन चाहन्छौ र उनीहरुको कुभलो गर्दैनौं । विल्कुलै कुभलो नगरी छिमेकीहरुसँग भलो चिताएर, सहयोग पुर्याएर, चासो र चिन्तालाई समेत सम्बोधन गरेर अघि जान्छौ’, उनले आफ्नो भूमि कसैका लागि प्रयोग हुन नदिने पनि बताए । ‘हाम्रो देशमा कसैका सैनिक अड्डा राख्न दिँदैनौ । कुनै प्रकारका सैनिक गतिविधिहरु वा त्यस्ता अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौ’, ओलीको भनाइ छ । उनले आफ्नो सार्वभौम सत्तामा कम्परमाइज नगर्ने भन्दै पारस्पारिक हितमा अघि बढ्ने बताए ।

ओलीले देशको कूटनीतिक सम्वन्धलाई अघिल्लो सरकारले भताभुंग बनेको आरोप लगाएका छन् । ओलीले विगत सरकारको समयमा छिमेक सम्बन्ध असन्तुलित, विवादास्पद र बेढंगी रुपमा चलेको बताए । सरकारले देशभित्र तनाव बढाउने र बाह्य शक्तिसँग साँठगाँठ एवं दलाली गरेर राष्ट्रिय हित कमजोर बनाउने काम गरेको उनको आरोप छ ।


प्रतिक्रिया