वागमती प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद् विस्तार, कसले कुन मन्त्रालयको पाए जिम्मा ?


हेटौंडा । वागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । यहाँ गठबन्धनमा रहेका दलहरूमध्ये एमालेबाट ३, माओवादीबाट ३ र राप्रपाका २ जना नयाँ मन्त्रीहरूले शपथ लिएका हुन् ।
आज एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, माओवादी केन्द्रबाट युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तान साथै राप्रपाबाट डम्बर तामाङ र राजु विष्टले शपथ लिए । यसअघि पुस २६ गते विनाविभागीय मन्त्रीको शपथ लिएका राप्रपाका उद्वव थापाले ऊर्जामन्त्रायलयको जिम्मेवारी पाएका छन् । एमालेका जगन्नाथ थपलियाले मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका थिए ।
वागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ, वन तथा वातावरण मन्त्री राजु विष्ट, पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री उद्दव थापा, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, कृषि तथा पशुपन्छी विकास मन्त्री केशव पोख्रेल, श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ सामाजिक विकास मन्त्री कुमारी मोक्तान मन्त्रालयको जिम्मा पाएका छन् ।