`

‘एमाले नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने नेतृत्वदायी पार्टी हो’ : अध्यक्ष ओली

Nepal One HD १२ माघ २०७९ ११:२१
प्रमुख खबर

​​​​​​​काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने नेतृत्वदायी पार्टी एमाले भएको बताएका छन् । वसन्त पञ्चमी श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ हामी नेपालीहरूको साझा राष्ट्रिय आकांक्षा भएको भन्दै एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको बताएका हुन् ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई प्राप्त गर्न स्पष्ट दूर दृष्टि, तदनुसारका नीति र कार्यक्रमहरू एवं ती नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्य योजना र आवधिक लक्ष्यहरूसहित एमाले अघि बढिरहेको बताएका छन् । देशलाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सुव्यवस्थातिर लैजाने यस उद्देश्यमा एकताबद्ध हुन अध्यक्ष ओलीले सबैमा आह्वान समेत गरे ।

अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनु पर्ने बताए । उनले त्यस्तो सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको उल्लेख गरे ।


प्रतिक्रिया