`

‘साहित्यकार र कविहरूका लागि वसन्त आफैँमा नयाँ रङ र फूलहरूको उत्सव हो’ : राष्ट्रपति भण्डारी

Nepal One HD १२ माघ २०७९ ११:३५
प्रमुख खबर

​​​​​​​काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरस्वतीलाई शिक्षा, ज्ञान, कला र संगितको आदिस्रस्टाका रूपमा मानिने परम्परा रहेको बताएकी छन् । माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवम् विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाहरूमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।

राष्ट्रपति भण्डारीले सरस्वती प्रकाशोत्सवले सभ्यतामा शिक्षा र कलाको महत्त्व दर्साउँछ भने अर्कोतिर मातृशक्ति नै ज्ञान निर्माणको आधारभूत स्रोत रहेको पक्ष पनि उजागर गर्ने बताएका हुन् । उनले वसन्त पञ्चमीकै दिन बालबालिकाहरूलाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने, कला संगितका साधकहरूले आफ्ना कुची एवं वाद्य यन्त्रहरूलाई सरस्वतीकै देन मानेर पूजा गर्ने परम्परा विकास भएको पनि बताए ।

राष्ट्रपति भण्डारीले नवीन कार्यको प्रारम्भ गर्न र साइत जुराउनु पर्ने शुभ कार्यका लागि समेत यही दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । वसन्त पञ्चमीको प्राकृतिक महत्त्व उत्तिकै छ भन्दै उनले साहित्यकार र कविहरूका लागि वसन्त आफैँमा नयाँ रङ र फूलहरूको उत्सव भएको बताएका छन् ।

उनले वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै हिउँदको जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले आजको दिनले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँने पनि बताए । राष्ट्रपति भण्डारीले आजको दिन गरिने वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकता मात्र नभई व्यक्तिको जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर भएको बताएका छन् ।


प्रतिक्रिया