भन्सार बिन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्छ : अर्थमन्त्री पौडेल


काठमाडौँ / उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार बिन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताउनुभएको छ ।
७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले पछिल्ला समयमा भन्सार बिन्दुबाट हुने चुहावट बढ्दै गएको र यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताउनुभएको हो ।
भन्सार बिन्दुबाट कुनै बस्तुको आयात घट्ने तर बजार सोही बस्तुको मौज्दात नै बढी हुने देखिएकाले यसले भन्सारका लिगल च्यानललाई चुनौती दिने काम भएको उहाँले बताउनुभयो । उहाँले वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न भन्सार विभागले गम्भीर भएर काम गर्नुपर्ने बताउनुभयो । अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षको यही अवधिको तुलना गर्दा यस आर्थिक वर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी भएको भन्दै यस्तो आँकडा सुनेर मात्रै बस्न सक्ने अवस्थामा सरकार नरहेको जिकिर गर्नुभयो । राजस्व परिचालनमा कमी आउनुमा विभिन्न तर्क सुनिने गरिएको भन्दै अर्थमन्त्री पौडेलले कुनै पनि तर्कले
राजस्व सङ्कलन गर्ने अभिभारा सङ्कलन गर्ने जिम्मेवारीबाट उम्किन नमिल्ने धारणा राख्नुभयो । राजस्व परिचालनको क्षेत्रको कमजोरीलाई समाधान गर्दै निष्ठा र कार्यक्षमतालाई प्रभावकारी बनाउँदै लक्ष्य भेटाउने काम गर्न उहाँले निर्देशन दिनुभयो ।
उहाँले भन्सार क्षेत्रलाई थप आधुनिकीकरणका योजना निर्माण गर्न पनि सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो । अन्तर्राष्ट्रिय व्यापारमा प्रविधिमैत्री भएर अघि बढ्दा लागत कम हुने र व्यापारलाई सहजीकरण गर्न सकिने उहाँको भनाइ छ ।