राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आगामी राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्ने निर्णय गरेको छ । बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको छ । राष्ट्रिय सहमति भनेपछि कांग्रेस र एमाले कुनैको नाममा हुँदैन सबैको ।’ उनले राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने आफूहरूको मत भएकाले के हुन्छ हेर्न बाँकी रहेको बताए । एमालेसहितको सबै पार्टीहरूसँग आफूहरुले छलफल गर्ने बताए ।
बैठकमा नेपाली कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्ने सुझाव आएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए । ‘कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दियो,’ पौडेलेले भने, ‘राजनीतिमा नयाँ परिस्थिति निर्माण भएर राष्ट्रपतिमा राष्ट्रिय सहमति गरौं भन्ने हाम्रो मत हो, यसको मतलव एमालेलाई बाहिर राखेर सहमति गरौं भन्न खोजिएको होइन ।’
बैठकको सुरुमै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो नयाँ राजनीतिक परिस्थितिनुसार राष्ट्रपतिको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने ’विषयमा स्थायी कमिटीका सदस्यलाई धारणा राख्न आग्रह गरेका थिए ।