`

नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ – प्रधानमन्त्री

Nepal One HD १६ माघ २०७९ ७:४३
प्रमुख खबर

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित रहेका उनले बताए ।

उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे उनले सन्देशमा भने-शहीदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने सङ्कल्प गर्न म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु

उनले भने “तानाशाही र निरङ्कुश व्यवस्थाका विरूद्ध सङ्घर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् शहीदहरूको बलिदानी भएको दिनलाई हामीले शहीद दिवसका रूपमा स्मरण गर्दै आएका छौँ, आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो ।”


प्रतिक्रिया