पार्टीको हैसियत अनुसार तीनवटा मन्त्रालयमा दाबी गरेका हौँ : झलनाथ खनाल


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको हैसियत अनुसार तीनवटा मन्त्रालयमा दाबी गरेको बताएका छन् ।
मंगलबार काठमाडौँको बानेश्वरमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका खनालले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले सङ्घीय संसदमा नेकपा एकीकृत समाजवादीसँग १८ सिट रहेकाले पार्टीको हैसियत अनुसार नै मन्त्रालयको सिट माग गरिएको बताएका हुन ।
उनले १० दल सरकारमा जाने र मन्त्रालयको सिट २५ रहेकाले दलहरूको भूमिकाका आधारमा मन्त्रीमण्डल बाँडफाँट गर्नुपर्ने धारणा राखे । उनले सरकारको पाँच बर्षे नीति कार्यक्रमको योजना बनाएर मात्रै मन्त्रीमण्डल बाँडफाँट गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।
त्यस्तै खनालले मिटरब्याज पीडितहरूको माग जायज रहेको भन्दै आन्दोलनमा समर्थन रहेको बताएका छन् । उनले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने पनि बताए ।