`

प्रकाशशरण महतलाई अर्थ मन्त्रालय ?

Nepal One HD १४ चैत २०७९ २०:५२
समाचार

अशोक दाहाल/बीबीसी न्यूज नेपाली – सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेसले अर्थ मन्त्रालय लिने छलफल चलिरहँदा यो दलले कसलाई अर्थमन्त्री बनाउला भन्ने चासो धेरैमा देखिएको छ। कमजोर राजस्व सङ्कलन, बढ्दो आन्तरिक ऋण र शेअर बजारमा देखिएको गिरावटका कारण पनि अर्थ मन्त्रालयको नेतृत्वमा धेरै मानिसहरूको चासो देखिन्छ।

कांग्रेसले पाउने भनिएको सबैभन्दा महत्त्वपूर्ण मन्त्रालयमा सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र प्रकाशशरण महतलाई पठाउने तयारी गरेको पार्टी नेताहरू बताउँछन्।

बीबीसीको जिज्ञासामा महतले पनि आफू यसका लागि तयार रहेको बताए।“अर्थतन्त्र अप्ठ्यारो स्थितिमा छ। लगानी जोखिममा छ प्रतिफल कम छ। माग र आपूर्तिमा समस्या छ। यो परिवेशमा बजारमा देखिएको नकारात्मक भावनालाई सकारात्मकतामा बदल्न जरुरी छ,” महतले भने।

“यो अवस्थामा कांग्रेसभित्र यो विषय पढेको, परराष्ट्र र ऊर्जा मन्त्रालय पनि चलाएको हिसाबले पनि मेरो लागि यो विषय अरूभन्दा उपयुक्त हुन्छ भन्ने सोच पनि राखेको हो। … तर सबैको सल्लाह सुझाव लिएर सभापतिजी [देउवा]ले निर्णय गर्ने कुरा हो।”

प्रकाशशरण महतको पृष्ठभूमि के हो?
अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका महत दुई पटक मन्त्री र एक पटक राज्यमन्त्री भइसकेका छन्। तर उनले अर्थ मन्त्रालयको नेतृत्व गरेका छैनन्।उनी यसअघि परराष्ट्र र ऊर्जामन्त्री भइसकेका छन्। उनले राष्ट्रिय योजना आयोगमा बसेर पनि काम गरेका छन्।उनका दाइ रामशरण महत बारम्बार अर्थमन्त्री भएका थिए।

अहिले देउवाले प्रकाशशरण महतलाई अर्थमन्त्रीमा अघि सार्न सक्ने कांग्रेस नेताहरूको आकलन पछाडि केही रोचक पक्षहरू पनि छन्।“मेरै दाजु रामशरण महतले अर्थतन्त्रको मजबुत जग खडा गरेको हो। अन्तर्राष्ट्रिय सहयोग र विश्वास आर्जित गरेको हो, भूकम्पकै बेला जोकोहीले त्यस्तो सहयोग ल्याउन सक्ने अवस्था थिएन,” उनले भने।

“विषयवस्तु बुझ्न सक्ने, सम्बन्धित मन्त्रालयमा पनि नतिजा दिएको र अर्थशास्त्रमै अमेरिकाबाट पीएचडी गरेर आएको भएर पनि म यसमा योग्य छु भन्ने लाग्छ।”

तर प्रधानमन्त्री प्रचण्ड ‘अनिच्छुक’
अहिलेको सरकारको मूल्याङ्कन नै अर्थतन्त्रमा देखिएको चुनौतीको समाधानबाट हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति देउवालाई अर्थमन्त्रीमा अब्बल नेता पठाउने आग्रह गरेको माओवादीका एक नेताले बताए।

देउवाले आफ्नो दलबाट अर्थमन्त्रीमा महतलाई पठाउने सङ्केत सोमवार भएको भेटमा दिएको दाबी ती नेताले गरे। उनले आफ्नो नाम उल्लेख नहोस् भन्ने चाहेका छन्।माओवादी नेताहरूका अनुसार महतलाई अर्थ मन्त्रालय दिन प्रधानमन्त्री दाहाल “अनिच्छुक” देखिएका छन्। तर देउवाले नाम सिफारिस गरे प्रचण्ड उनलाई अर्थमन्त्री बनाउन बाध्य हुनेछन्।

अघिल्लो कार्यकालमा प्रचण्डको मन्त्रिपरिषद्‌मा महत परराष्ट्रमन्त्री थिए।प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले गठबन्धनभित्र सन्तुलन हुनेगरी प्रमुख मन्त्रालयहरूको जिम्मेवारी विभाजन हुने बताए।”कुन मन्त्रालय कुन दलले पाउने र को व्यक्ति त्यसमा हुने भन्ने अझैसम्म टुङ्गो लागिसकेको छैन तर साझेदार दलहरूबीच सन्तुलन हुने गरि मन्त्रालय बाँडफाँट हुन्छ,” उनले भने।

देउवासँग सोमवार भेट गरेकी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय “अन्तिम टुङ्गो लाग्न बाँकी रहे पनि कांग्रेसबाट महत नै अर्थमन्त्री बन्न सक्ने” बताउँछिन्।“आर्थिक क्षेत्रमा उहाँ (महत) गर्न सक्ने मान्छे नै हो भन्ने हामीलाई लागेको छ। अब उहाँलाई नै पठाउनुहुन्छ कि भन्ने छ तर निर्णय भएर यही व्यक्ति भन्ने भइसकेको छैन,” उनले भनिन्।

उनका अनुसार अर्थतन्त्रका चुनौती सामना गर्न सक्ने, आर्थिक क्षेत्रमा केही गर्ने अठोट भएको, निर्णय लिन सक्ने र पार्टीबाट हुने दबाव सामना गर्न सक्ने नेता भावी अर्थमन्त्रीका लागि कांग्रेसबाट सिफारिस हुनसक्छ।

“पार्टीबाट र सांसदहरूबाट पनि अर्थ मन्त्रालयमा दबाव हुन्छ त्यसको व्यवस्थापन गर्न सक्ने क्षमता पनि चाहियो,” उनले भनिन्।देउवानिकट मानिने कांग्रेसकै अर्का सहमहामन्त्री महेन्द्र यादव पनि कांग्रेसको भागमा अर्थमन्त्री आए महत नै दाबेदार हुने ठान्छन्।“अर्थशास्त्रमा पीएचडी गरेको, अर्थतन्त्रको ज्ञान भएको उहाँ नै हो। पार्टीको पनि प्रतिबद्ध साथी हो,” उनले भने।

‘देउवाप्रति बफादार’
कांग्रेस नेताहरूको भनाइ र कांग्रेस निकट विश्लेषक पुरञ्जन आचार्यको बुझाइमा धेरै समानता देखिन्छ।“देउवाले अर्थमन्त्रीमा आफूप्रति शत प्रतिशत बफादार व्यक्ति छान्छन्। त्यसो हुँदा प्रकाशशरण महतबाहेक विकल्प छैन,” उनले भने।

आचार्यका अनुसार देउवासँगको निष्ठा र अर्थशास्त्रको पनि पृष्ठभूमिका कारण अन्य दाबेदारहरूभन्दा महत बलिया छन्।“उनीसँग अहिलेको अर्थशास्त्रको चुनौती सामना गर्न सक्ने क्षमता छ कि छैन, त्यो मूल्याङ्कन हुन बाँकी कुरा हो। तर कम्तीमा पृष्ठभूमि छ। देउवाले राजनीतिशास्त्रका ज्ञानेन्द्रबहादुर कार्कीलाई त अर्थमन्त्री बनाए भने प्रकाशशरण महत हुँदा त उनैलाई छान्ने भइहाले,” आचार्य थप्छन्।“किन‍भने देउवाप्रतिको निष्ठाका कारण पनि हो।”अर्थतन्त्र पढे पनि आर्थिक मामिलामा हुने बहसमा उनका दाइ रामशरण महतजस्तो प्रकाशशरण महतको सार्वजनिक प्रस्तुति नभएको उनका आलोचकहरू बताउँछन्।

महतका आलोचकहरूको भनाइमा केही सत्यता रहेको स्वीकार गर्दै आचार्य भन्छन्, “नेपालको अर्थतन्त्र कुन दिशामा जाने के गर्ने र अर्थतन्त्रले सामना गरेका चुनौतीबारे बोल्ने लेख्ने छलफल गर्ने चाहिँ उनीसँग छैन।”

नाम उल्लेख नगर्ने सर्तमा माओवादीका एक नेताले महतलाई प्रधानमन्त्रीले विश्वास गर्न हिचकिचाएको कारणमध्ये यो पनि एक हुनसक्ने बताए।तर प्रकाशशरण महत भने यस्तो आरोप अस्वीकार गर्छन्।

“त्यस्तो होइन। म पटकपटक त्यस्ता मञ्चहरूमा सहभागी भएको छु। पछिल्लो पटक परराष्ट्रमन्त्री भएर काम पनि देखाएँ त्यसपछि धेरै परराष्ट्र सम्बन्धमा बोलाउने गरिएको हो,” उनले भने।“कि त रामशरण महत त हुनुहुन्थ्यो, अहिले उहाँ संसद्‌मा हुनुहुन्न।”


प्रतिक्रिया