दलहरूलाई जुटाएर सरकार बनाउनुपर्ने अवस्थाले स्थिरता आउँदैन : अध्यक्ष ओली


पाल्पा- नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अस्थिरता कायम रहँदासम्म मुलुकको समृद्धि सम्भव नरहेको बताउनुभएको छ।
नेकपा एमाले पाल्पाले दमकडामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो।
अध्यक्ष ओलीले एमालेलाई बलियो शक्ति बनाउन सबै कार्यकर्ता एकजुट भएर जनताको पक्षमा लाग्न आग्रह गर्नुभयो। अहिले स्थिरता चाहने र नचाहने शक्तिबीच सङ्घर्ष भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘सही नीति र नेतृत्वबाट मात्र आम नेपाली नागरिकको हितमा काम गर्न सकिन्छ । दलहरूलाई जुटाएर सरकार बनाउनुपर्ने अवस्थाले स्थिरता आउँदैन ।’
एमालेले हरेक स्थानमा ५१ प्रतिशत मत ल्याए मात्र मुलुकले निकास पाउने उहाँको भनाइ छ। जनतामा गएर जनताको मन जितेर बहुमत ल्याउने गरी काम गर्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो।
देश अहिले आर्थिक रुपले सङ्कटमा रहे पनि सुधार गर्नेतर्फ सरकारको ध्यान जान नसकेको उहाँले आरोप लगाउनुभयो। देशलाई आर्थिक सङ्कटबाट मुक्त गर्न स्वदेशमै उत्पादन बढाउनुपर्ने र त्यसको व्यापार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।
अध्यक्ष ओलीले आफूलाई अब प्रधानमन्त्री बन्ने कुनै रहर नभएको समेत उल्लेख गर्नुभयो । ‘मलाई अब प्रधानमन्त्री हुने कुनै लोभ छैन’ उहाँले भन्नुभयो, ‘देशको पक्षमा, जनताको पक्षमा, आम किसानको पक्षमा बोल्न कुनै डर छैन । जनताबाट आफूले पाएको प्रत्यक्ष र अप्रत्यक्ष माया र सद्भाव देश र जनताका लागि खटेर पूरा गर्ने मेरो अठोट छ ।’
कार्यक्रममा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पार्टीका सचिव छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य ठाकुर गैरे, खिमलाल भट्टराईलगायतले एमालेलाई मिसन ग्रासरुट अभियानले स्थापित गर्ने दाबी गर्नुभयो।