देशले इतिहासकै सबै भन्दा बढी आर्थिक सङ्कटको सामना गर्दै छ : योगेश भट्टराई


हुम्ला – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले माओवादीको नेतृत्वमा देशमा समाजवाद आउँछ भन्नु बालुवा पेलेर तेल निकाल्छु भन्ने जस्तो मुर्खता भएको बताउनुभएको छ ।
पार्टीको दुई महिने मिसन ग्रासरुट अन्तर्गत हुम्लाको चंखेली गाउँपालिकाको मध्यावधि समीक्षा बैठकलाई सम्वोधन गर्दै सचिव भट्टराईले देशमा समाजवादको नेतृत्व एमाले बाहेक अरु कसैले गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।
समाजवाद हुँदै साम्यवादका नारा लगाएर दश वर्षे सशस्त्र सङ्घर्ष गरेको माओवादीका अध्यक्ष प्रचण्ड देशको प्रधानमन्त्री हुँदा देशले इतिहासकै सबै भन्दा बढी आर्थिक सङ्कटको सामना गरिरहेको उहाँको भनाइ छ ।
नेकपा (एमाले) नेतृत्वको सरकारले कर्णाली कोरिडोर र कर्णाली राजमार्गलाई कर्णालीको लाइफ लाइनका रूपमा अघि बढाएको उहाँले वताउनुभयो ।
नेकपा (एमाले) चंखेली गाउँ कमिटीका इन्चार्ज पुनिमल रावलको अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इञ्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यत्रय निरज आचार्य, नवराज रावत, दल फडेरालगायत नेताहरूले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो ।