वर्तमान सरकारको स्थायित्वका विषयमा आशंका नगर्न माधव नेपालको आग्रह


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको स्थायित्वका विषयमा आशंका नगर्न आग्रह गरेका छन् ।
बुधबार काठमाडौँमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा अध्यक्ष नेपालले वर्तमान सरकार र सत्तारुढ गठबन्धनका विषयमा विभिन्न आशंका गर्ने गरेको भन्दै गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन सुझाव दिएका हुन् । राजनीतिक स्थायित्व दिनका लागि नै दलहरू मिलेर अघि बढ्ने प्रतिबद्धता गरेको उनले बताए ।
अध्यक्ष नेपालले पद र अवसरका लागि दलहरू मिलेको भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई चिर्दे जनता र देशलाई केन्द्रित भएर काम गर्न सके त्यस्ता आरोपहरू आफै हट्ने जिकिर गरे । उनले अहिलेको गठबन्धन निर्वाचनका जनताले दिएको जनादेश अनुसारको रहेकाले मुलुकको समृद्धि र विकासमा जनताको अपेक्षा अनुसार नै अघि बढ्ने धारणा राखे ।
अध्यक्ष नेपालले गठबन्धनभित्र रहेका तीन वटा पार्टीबिच बाममोर्चा बनाएर अघि बढ्ने तयारी भइरहेको जानकारी दिए । त्यस्तै उनले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन कम्युनिष्टबीचको एकतालाई पनि महत्त्व दिएको भन्दै कुनै दल सप्रेर मिलेर जानुपर्छ भन्न मान्यताका साथ आए एकता हुन सक्ने बताए ।
अध्यक्ष नेपालले विचार, नीति, दृष्टिकोण र भावनामा एकरूपता भए सँगै बसेर काम गर्न समस्या नहुने तर कुनै पार्टीमा गएर भने गाभिन नसकिने स्पष्ट पारे ।