`

के सुनिल शर्माले अहिले दुई दिनमै फेक सर्टिफिकेट बनाएका हुन ? : केपी शर्मा ओली

Nepal One HD २६ साउन २०८० १९:५५
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बोल्नेहरुको मुख थुन्न उद्दत भएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस सांसद सुनिल शर्माले सरकार विरुद्घ बोलेका कारण  पक्राउ गरिएको बताउनुभयो ।  

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले के शुनिल शर्माले दुई दिनमै नक्कली सर्टिफिकेट बनाएका हुन् ? भन्दै  प्रश्न गर्नुभयो ।  

‘सुनिल शर्माले अहिले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेपछि दुई दिनमा फेक सर्टिफिकेट बनाएको हो ? दुई दिन बोल्नेवित्तिकै हतकडी ? ओलीले प्रश्न गर्नुभयो, ‘सुनिल शर्मा भन्ने मान्छे भागिहाल्छ र ?’ उहाँले सरकारले एक हातमा हत्कडी र एक हातमा पत्र थमाउँदै आवाज थुन्न खोजेको बताउनुभयो । 

सरकार सुन प्रकरणको विरोध गर्ने सबैको मुख बन्द गर्ने अभियानमा लागेको उहाँले बताउनुभयो । सुन पास गर्नेहरूले नै छानबिन गरेर हुँदैन भनेर आफूहरूले उच्चस्तरीय छानबिनको माग गरिरहेको उहाँले बताउनुभयो ।  

‘सुनिल शर्माको जाली सर्टिफिकेट भएको भए पहिला किन लुकाएको ? किन चुनावमा उम्मेदवार बनाएको ? ’ओलीले भन्नुभयो , होइन भने दुई दिन सरकारको विरोध गर्नेवित्तिकै किन समात्या ? यस्तो कपटपूर्ण खेल किन ? ।’

उहाँले अहिले सबै पोल खुल्ने डरले संसदमा सत्तापक्षले प्रतिपक्ष बोल्न थालेपछि सबै उठेर अवरोध गर्न थालेको बताउनुभयो । महाभारतमा हसोस्थामा हत हत भन्ने सत्यलाई जसरी पुरा भन्न दिइएको थिएन त्यसैगरी सत्ता पक्षले अहिले सत्ता उजागर होला भनेर संसद्मै होहल्ला गरिरहेको ओलीले बताउनुभयो । 


प्रतिक्रिया