`

बङ्गलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धन बनाई रकम असुल्ने गिरोह पक्राउ

Nepal One HD २८ साउन २०८० १६:२३
प्रमुख खबर

काठमाडौं – पोल्याण्ड लगायत विभिन्न देश पठाउन भन्दै भिजिट भिसामा बङ्गलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धन बनाई रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै  बङ्गलादेशी नागरिकहरूलाई बन्धक बनाएर रकम असुलेको आरोपमा सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दुई नेपाली नागरिक इलाम घर भएकी रोशनी राई र सिन्धुपाल्चोक घर भएकी तारा नेपाली रहेकी छिन् भने ५ बङ्गलादेशी नागरिकमा अमिर हुसेन, मोहम्मद मोसिह्युर, सलिम मिया, जहान्गीर अलाम र ताहमिना बेगम रहेका छन् ।

उनीहरूले बङ्गलादेशबाट विभिन्न प्रलोभनमा नेपाल ल्याई बन्धक बनाएर परिवारसँग रकम मागेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिनुभयो । आफूहरूसँग भएको रकम असुल गरेर परिवारसँग पनि फोनमार्फत रकम असुल गर्न खोजेपछि एक बङ्गाली नागरिकले उजुरी दर्ता गराएको र अनुसन्धान गर्दा गिरोहलाई पक्राउ गर्न सफल भएको उहाले बताउनुभयो । विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरुमा बङ्गलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको खुलेको उहाले जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा बङ्गलादेशी पीडित नागरिकहरूले आफूहरूलाई एजेण्डले पोल्याण्ड लगायतका देश पठाउनका लागि पाँच लाख रुपैयाँ लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको गुनासो गरेका छन् । नेपाल आएपछि आफूहरूसँग खर्चका लागि भएको पैसा, मोबाइल पनि लिएको बताएका छन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरू माथि मुलुकी अपराध संहिताका साथै सङ्गठित अपराध ऐन बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाएको जनाएको छ । 


प्रतिक्रिया