`

आजदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, यस्ता छन् एजेण्डा

Nepal One HD १२ पुष २०८० ८:०९
प्रमुख खबर

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानोपामा बस्ने बैठकमा प्रचण्ड नेतृत्वको सरकारले एक वर्षे कार्यकालका विषयमा समीक्षा गर्ने प्रमुख प्रस्ताव छ ।

पार्टीको महासमिति बैठकको तयारी, राष्ट्रिय सभा सदस्य निर्वाचन र समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुने बैठकमा सरकारको एक वर्षे कार्यकालको विशेषरुपमा समीक्षा गरिने कांग्रेसले जनाएको छ ।

केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा हुने बताए । वर्तमान सरकारमा कांग्रेसबाट उपसभापतिद्वयसहित ९ जना नेताहरू मन्त्री छन् ।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीका तर्फबाट मन्त्री बनेकाहरूलाई कामको फेहरिस्त माग गर्ने र प्रश्नोत्तर श्रृंखलासमेत राखिएको कांग्रेसले जनाएको छ । नेताहरूका अनुसार मन्त्रीहरूलाई आफ्नो रिपोर्ट कार्ड केन्द्रीय कार्यालयमा बुझाउन भनिएको छ ।

त्यस्तो प्रगति विवरण बैठकमा प्रस्तुत गरिने र त्यसमाथि केन्द्रीय सदस्यहरूले प्रश्न गर्ने तथा मन्त्रीले जवाफ दिने कार्यक्रमसमेत राखिएको छ । बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार चयन गर्दा अपनाउनुपर्ने मापदण्डबारे समेत निर्णय गर्नुपर्ने नेताहरूले बताइरहेका छन् ।

त्यस्तै, महासमिति बैठकको तयारीका विषयमा समेत अहिलेसम्मको प्रगतिबारे छलफल हुनेछ । कांग्रेसको महासमिति भेला आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने कार्यसूची छ ।


प्रतिक्रिया