अब मेरिटोक्रेसीका आधारमा उपकुलपतिलगायतका पदाधिकारीहरू नियुक्त हुनेछन्ः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘कान्तिपुर एजुकेशन समिट’ मा प्रधानमन्त्री दाहालले प्रतिस्पर्धामार्फत् शिक्षाको गुणस्तर उकास्न आफूले पहल लिने र त्यसका लागि नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा जोड दिए ।
उनले प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकास्नलाई पहल गर्ने बताए । उनले भने, ‘मैले घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुने छैन । मेरिटोक्रेसीका आधारमा उपकुलपति लगायतका पदाधिकारीहरू नियुक्त हुनेछन् । म मेरो संकल्पमा दृढ छु । यसले योग्यहरूले जिम्मेवारी प्राप्त गर्ने अवसरको ढोका खुल्नेछ ।’
प्रधानमन्त्रीले वर्तमान परिवेश सुहाउँदो र प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताए ।
